वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनावपूर्ण घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनालाई दुखद, चिन्ताजनक र दुर्भाग्यपूर्ण भन्दै साम्प्रदायिक सद्भाव कायम राख्न सबैमा आग्रह गरिएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ, “शान्ति, सहिष्णुता र आपसी सद्भावका साथ हनुमान जयन्ती मनाउनुपर्नेमा केही अराजक तत्वहरूले अमनचयनमा खलल पुर्याएको घटनाले हामीलाई दुःखी तुल्याएको छ ।”
मुख्यमन्त्री सिंहले नागरिक सुरक्षाको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै दोषी पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । साथै, उनले स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र सबै पक्षलाई संयमता अपनाई शान्ति व्यवस्था कायम राख्न अपिल गरेका छन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ प्रदेश सरकार जनताको सुरक्षाप्रति गम्भीर छ र राज्यलाई अस्थिर बनाउने, अशान्ति फैलाउन खोज्नेलाई सफल हुन दिइने छैन । यसै क्रममा, मुख्यमन्त्री सिंहले घटनाको सत्यतथ्य छानबिन, अनुसन्धान तथा कारबाहीका लागि सर्वदलीय बैठकबाट प्राप्त सुझावअनुसार थप प्रभावकारी कदम चाल्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।