पछिल्लो समय मधेश प्रदेशमा देखापर्न थालेको धार्मिक तथा सम्प्रदायिक द्वन्द्वको पृष्ठभूमिमा बारा जिल्लामा शान्ति र सहिष्णुताका लागि पहल सुरु गरिएको छ ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय, बाराले जिल्लाको सभाहलमा मुस्लिम समुदायका अगुवा तथा बारा जिल्ला शान्ति सुरक्षा समितिका पदाधिकारीहरूबीच महत्वपूर्ण छलफल गरेको हो ।
छलफलको उद्देश्य प्रदेशमा बढ्दो धार्मिक तनावलाई न्यूनीकरण गर्दै समुदायबीच आपसी विश्वास, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्नु रहेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजनमा सम्पन्न उक्त छलफलमा समुदायका अगुवाहरूले धार्मिक पर्व, शोभायात्रा तथा सभासमारोहका क्रममा संयमता र सहिष्णुताको अभ्यास गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रशासनले मुलुकको संवैधानिक धर्म निरपेक्षताको अभ्यास गर्दै नागरिक अधिकार र धार्मिक स्वतन्त्रताको संरक्षण गर्नु राज्यको दायित्व रहेको भन्दै राज्य संयन्त्र सबै धर्म र समुदायप्रति समान रूपमा उत्तरदायी हुने स्पष्ट पारेको छ ।
कार्यक्रममा सहभागी मुस्लिम अगुवाहरूले पछिल्लो समय उत्पन्न केही घटनाबाट समुदायमा असुरक्षाको भावना बढेको उल्लेख गर्दै, समाजमा धार्मिक सद्भाव खल्बल्याउने प्रयासलाई निषेध गर्न प्रशासनलाई सघाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले शिक्षित युवालाई सही मार्गदर्शन, सामुदायिक संवाद, र अभिव्यक्ति स्वतन्त्रताको मर्यादित प्रयोगमा जोड दिए ।
प्रशासनले आगामी दिनमा बारा जिल्लामा विभिन्न धार्मिक तथा सामाजिक नेतृत्वकर्ता समूहहरूसँग नियमित संवाद गर्ने योजना बनाएको छ ।