सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । सामाजिक र पारिवारिक दबाब, न्याय नपाएको पीडा, र प्रहरीको उदासीनताबीच उनी मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार घटनाको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारले प्रारम्भिक अनुसन्धानमा उनी छानोमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको जनाएको छ ।
मृतक आनन्दी चार महिनाअघि गाउँकै दुई युवक सञ्जीवकुमार यादव (२२) र श्यामसुन्दर यादव (३२) बाट यौन दुर्व्यवहारको शिकार भएकी थिइन् । घटना घटेको दिन बिहान उनी दिदीलाई भेट्न निस्किएर गाउँकै पोखरी हुँदै गइरहेका बेला उनीहरूद्वारा जबर्जस्ती करणी प्रयास भएको थियो । प्रतिकार गरी उम्किएपछि आमा बिल्टौन देवीसँगै प्रहरीमा जाहेरी दिन गएकी थिइन् ।
तर, जाहेरी दर्ता नभएको, प्रहरीले जाहेरी च्यातिदिएको, र मिडियामा जाने दबाबपछि मात्रै जाहेरी दर्ता भएको मृतककी आमाको भनाइ छ । प्रहरीका अनुसार फागुन २५ मा मात्रै मुद्दा दर्ता भएको हो, त्यो पनि बलात्कार प्रयास (जबर्जस्ती करणी उद्योग) अन्तर्गत ।
दबाब र लापरवाही
पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । "नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो", आमाले दुखेसो पोखिन् ।
नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनिल सदाले प्रहरीको भूमिका निकै शंकास्पद देखिएको भन्दै छानबिनको माग गरेका छन् । उनका अनुसार राजनीतिक दबाबका कारण पीडितलाई न्यायबाट वञ्चित गरिएको हो ।
प्रहरीले आरोपितलाई समात्न नसकेको भन्दै बहाना बनाए पनि, स्थानीयका अनुसार ती युवाहरू गाउँमै खुलेआम घुम्ने गरेका छन् । मृतककी आमा बताउँछिन्, "हामीले न्याय माग्दा पनि प्रहरी हाम्रो पक्षमा छैन भन्ने महसुस भयो । हामीलाई उल्टै हेपाहा व्यवहार गर्यो ।"
सामाजिक लाज र पीडाको अन्त्य : आत्महत्या
दुई वर्षीया छोरीकी आमा आनन्दी पछिल्लो समय माइतीमै बस्दै आएकी थिइन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेका उनी बलात्कार प्रयासपछि सामाजिक लज्जा, न्यायको अभाव र दमनका कारण गहिरो मानसिक तनावमा थिइन् । अन्ततः उनले आत्महत्या गर्नुपर्ने स्थितिको सामना गर्नुपर्यो ।
यस घटनाले समाजमा दलित समुदाय, विशेषतः मुसहर महिलामाथि हुने उत्पीडन र राज्य संयन्त्रको कमजोर पहुँचलाई पुनः उजागर गरेको छ । प्रहरी प्रशासनको लापरवाही र राजनीतिक प्रभावका कारण न्याय प्राप्तिका लागि पर्खनुपर्ने अवस्था अझै विधामान रहेकाे देखिन्छ ।