पछिल्ला केही दिनयता वीरगंजमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावप्रति खानेपानी, सरसफाइ तथा सिँचाई मन्त्री प्रदीप यादवले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपील जारी गर्दै उनले शान्ति, सद्भाव र आपसी समझदारीका लागि वीरगंजवासीलाई संयमित र सचेत रहन आग्रह गरेका हुन् । वीरगंजको ऐतिहासिक र सांस्कृतिक पहिचान धार्मिक विविधता, सांस्कृतिक सहिष्णुता र पर्वहरूमा आपसी सहभागिता भएको उल्लेख गर्दै मन्त्री यादवले यस्तो समावेशी समाजमा तनाव फैलाउने क्रियाकलाप प्रति कुनै पनि प्रकारको सहमति हुन नसक्ने बताएका छन् ।
"वीरगंज क्षेत्रका सबै नागरिकहरूमा सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपील गर्दछु," उनले लेखेका छन्, "वीरगंज सबैको साझा फूलबारी हो । यहाँ मेलमिलाप कायम राख्नु सबैको साझा जिम्मेवारी हो ।"
मन्त्री यादवले स्थानीय प्रशासनलाई शान्ति विथाेल्ने गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेका छन् । “सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड, आगजनी वा अभद्र व्यवहार गर्नेलाई कडा कानुनी कारबाही गरिनुपर्छ,” मन्त्री यादवले भनेका छन् । उनका अनुसार वीरगंजमा तनाव उत्पन्न हुन थालेदेखि नै उनी व्यक्तिगत रूपमा पर्सा जिल्लाको प्रशासन र प्रहरीसँग सम्पर्कमा छन् । उनले विभिन्न समुदायका अगुवासँग समन्वय गर्दै शान्ति कायम गर्ने प्रयासलाई निरन्तरता दिइरहेको बताएका छन् ।
‘प्रचारबाजी होइन, नेपथ्यको प्रयास आवश्यक’
मन्त्री यादवले यस्ता संवेदनशील मुद्दामा हल्ला र प्रचारबाजीभन्दा पर रहेर गम्भीर र परिणाममुखी संवाद र पहल गर्नुपर्नेमा जोड दिएका छन् । “शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो—हल्ला र प्रचारबाजीभन्दा नेपथ्यबाट गम्भीर प्रयास गर्नुपर्छ भन्ने मेरो मान्यता हो,” उनले भने ।
उनले वीरगंजबासीलाई आश्वस्त पार्दै भने, “हामी सबैको सामूहिक प्रयासले वीरगंज आफ्नो पुरानै लयमा अवश्य फर्कन्छ ।” भनेका छन्र ।
यसअघि वीरगंज क्षेत्रमा विभिन्न पर्वका समयमा धार्मिक जुलुस तथा अन्य घटनालाई लिएर तनाव सिर्जना हुने, सामाजिक सञ्जालमा उत्तेजनात्मक अभिव्यक्तिहरू फैलिने, र केही स्थानमा झडप तथा तोडफोडका घटनाहरू देखिएका थिए । यिनै घटनालाई मध्यनजर गर्दै मन्त्री यादवले संयमता र संवेदनशीलताको आह्वान गरेका हुन् ।