वासिङटन | चीनले बोइङ सम्झौताबाट पछि हटेको ट्रम्पको आरोप, “अब बल चीनको कोर्टमा”
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अमेरिकी विमान निर्माता कम्पनी बोइङसँगको सम्झौता तोडेको गम्भीर आरोप लगाएका छन् । उनले चीनसँग व्यापार सम्झौताका लागि अब पहल गर्नुपर्ने समय आएको बताए ।
ह्वाइट हाउसका प्रवक्ता कारोलिन लेभिटले ट्रम्पको तर्फबाट वक्तव्य पढ्दै भनेकी थिइन्, “बल अब चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्नुपर्छ, हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन ।”
ट्रम्पले चीन र अन्य कुनै पनि देशबीच खासै भिन्नता नरहेको बताउँदै भने, “फरक केवल भूगोलको हो—कसैको भूगोल ठूलो छ, कसैको सानो। तर व्यापारिक दृष्टिकोणले सबै समान छन् ।”
उनको टिप्पणी ब्लुमबर्गले प्रकाशित गरेको एक समाचारपछि आएको हो, जसमा बेइजिङ सरकारले आफ्ना एयरलाइन्सहरूलाई बोइङ कम्पनीका थप जेटहरू नलिन आदेश दिएको उल्लेख छ । ट्रम्पले यही कदमलाई व्यापार सम्झौता तोडेको रूपमा व्याख्या गरेका छन् ।
बोइङ सम्झौता अमेरिकाको उड्डयन उद्योगको लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ, र चीनको पछिल्लो निर्णयले व्यापारिक सम्बन्धमा थप जटिलता ल्याउने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।