नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस बारा क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय भेलालाई शनिबार परोहामा सम्बोधन गर्दै उनले सरकार जनअपेक्षाबाट भट्किएको टिप्पणी गरेका छन् । थापाले संविधान संशोधन, सुशासन र पारदर्शिताका लागि गठबन्धन गरिएको भए पनि अहिले सरकारको प्राथमिकता र कार्यशैली भिन्न दिशातर्फ गएको बताए । उनले भने, "जनताको अपेक्षा सुशासन, विकास र संविधानको कार्यान्वयन थियो, तर अहिलेको सरकार त्यसबाट धेरै टाढा गएको छ ।"
उनका अनुसार गठबन्धन सरकारको उद्देश्य स्पष्ट भए पनि त्यसले अपेक्षित नतिजा दिन नसकेको भन्दै जनताको विश्वास घट्दो क्रममा रहेको उल्लेख गरे । "सरकार जनताको भावनाअनुसार नचलेकोले असन्तुष्टि बढ्दै गएको छ," उनले भने, "सरकारको कार्यशैलीमा आमूल सुधार आवश्यक छ ।"
कार्यक्रममा बोल्दै थापाले काँग्रेसको आगामी केन्द्रीय महाधिवेशनको विषयमा २०८४ सालको निर्वाचनपछि मात्र महाधिवेशन हुने स्पष्ट गर्दै, समयभन्दा अघि महाधिवेशनको दिवास्वप्न नदेख्न नेताहरूलाई आग्रह गरेका छन् ।
काँग्रेस क्षेत्र नं. ३ का सभापति राजेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय स्तरका दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो । तर पार्टी सभापति शेरबहादुर देउवा निकटका बाराका नेताहरू भने कार्यक्रममा अनुपस्थित देखिए ।
कार्यक्रममा काँग्रेसका युवा नेता, विभिन्न वडा सभापतिहरू, महिला तथा दलित नेतृहरूको सहभागिता रहेको थियो ।
भेलामा स्थानीय तहमा काँग्रेसको संगठन सुदृढीकरण, नीति–कार्यक्रम निर्माण र आगामी निर्वाचनको तयारीबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ ।