सप्तरीको सुरुङ्गा नगरपालिका–७ तीनगछियास्थित पोखरी किनारमा १८ वर्षीया पूजा कुमारी राम हत्या अवस्थामा फेला परेपछि घटनाले रहस्यमय मोड लिएको छ ।
मृतककी आमा रामवती देवी रामले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् । शव घाँसपातले छोपिएको अवस्थामा फेला परेपछि प्रहरी आफैंले पनि हत्याको भएकाे जनाएको छ ।
पोखरी किनारमा शव, चप्पल दुई ठाउँमा
स्थानीय नागेन्द्र रामकी छोरी पूजा मंगलवार बिहान करिब ७ बजेतिर घरदेखि करिब ५ सय मिटर टाढा कुसुमलाल साहको पोखरी किनारमा मृत अवस्थामा भेटिएकी थिइन् । शव घाँसपातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो । घटनास्थलको अवलोकन गर्दा पूजाले लगाएको एक चप्पल घरको गेट नजिकै र अर्को चप्पल सय मिटर टाढा भेटिएको प्रहरीले जनाएको छ । यसरी चप्पल दुई स्थानमा फेला परेकोले उनलाई अपहरण गरेर हत्या गरिएको परिवारजनको दाबी छ ।
घरमा सानो भाइसँग मात्रै थिइन् पूजा
रामवती देवी नयाँ वर्षको अवसरमा सोमबार साँझ अष्टयाम पूजामा सहभागी हुन गएकी थिइन् । त्यो बेला पूजा र उनका १२ वर्षीय भाइ विश्वजीत मात्र घरमा थिए। राती घर फर्किँदा छोरा सुतिरहेको अवस्थामा भेटिए पनि पूजा हराइरहेकी थिइन्। परिवारले रातभर खोजतलास गरे पनि बिहानसम्म उनी फेला परिनन् । प्रहरीमा जानकारी दिन जाने तयारीकै क्रममा पोखरी किनारमा पूजाको शव फेला परेको खबर आयो । खबर सुनेपछि मृतककी आमा अचेत भएकी थिइन् ।
स्थानीयले पिसाब फेर्न निस्कँदा पोखरी किनारमा घाँसपातले ढाकिएको शव देखेपछि घटना बाहिर आएको हो । स्थानीयको भनाइअनुसार अपराधीले रातिको अँध्यारोमा पूजा एक्लै भएको मौका छोपी अपहरण गरेर एकान्त स्थानमा हत्या गरेर घाँसपातले छोपेको हुनसक्छ ।
डग स्क्वाड परिचालन, अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धानका लागि मधेश प्रदेश प्रहरीको केनाई शाखा लालगढबाट तालिम प्राप्त डग स्क्वाड (कुकुर) ल्याएर प्रयोगमा ल्याएको छ । प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार वस्नेतका अनुसार, डग स्क्वाडको प्रयोगबाट केही संकेत भेटिएको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र अनुसन्धान पूरा भएपछि मात्रै घटनाको सबै तथ्य सार्वजनिक गरिने जनाइएको छ ।
मृतक पूजा कुमारीका पिता नागेन्द्र राम वैदेशिक रोजगारीका लागि हाल विदेशमा छन् । मजदुरी गरेर परिवार धान्दै आएका उनी यस हृदयविदारक घटनाको खबर पाउने बित्तिकै स्तब्ध बनेको परिवारजनले जनाएका छन् ।
यो घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ । सुरक्षाको प्रत्याभूति दिलाउन तथा सत्यतथ्य छिटो पत्ता लगाउन स्थानीयले प्रदेश सरकार र प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् ।