काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकमा केही परिवर्तन नभएको भन्ने भ्रामक प्रचार नेपाललाई बद्नाम गराउने प्रयास भएको बताउनुभएको छ ।
बिहीबार राजधानीमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री राणाले २०४६ सालपछिका सकारात्मक परिवर्तनहरूलाई बेवास्ता गर्दै निराशाजनक सन्देश फैलाउने प्रवृत्ति गलत रहेको बताउनुभयो ।
“गाउँगाउँमा सडक, स्वास्थ्य, सञ्चार, प्रविधि लगायतका क्षेत्रमा तीव्र सुधार भइरहेको छ,” मन्त्री राणाले भन्नुभयो, “तर ‘नेपालमा केही भएन, अब यो देशमा के बस्ने ?’ भनेर आफैंले गलत धारणा फैलाउने गरिरहेका छौँ ।”
उहाँले नेपालबारे कूटनीतिक वृत्तमा सकारात्मक धारणा रहँदासमेत मिडियामा नकारात्मकता मात्र देखापर्नु चिन्ताजनक भएको उल्लेख गर्नुभयो ।
त्यस्तै, समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछिका भौतिक पूर्वाधारका विकासप्रति सन्तुष्टि व्यक्त गर्दै निराश हुने ठाउँ नरहेको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा भइसकेको जानकारी दिँदै यसको कार्यान्वयनका लागि पूर्वाधारमा जोड दिइएको बताए ।
पुस्तककी लेखिका डा. महेश्वरी कुँवरले पुस्तकले सातवटै प्रदेशको सांस्कृतिक, सामाजिक र विकास अवस्थालाई समेटेको र नेपाल बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।