किएभ | युक्रेन र संयुक्त राज्य अमेरिकाले किएभस्थित प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकी पहुँच सुनिश्चित हुने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासहितको समझदारी पत्र बिहीबार हस्ताक्षर भएको किएभ स्रोतले जानकारी दिएको छ ।
युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेकी छन् । उनले युक्रेनको पुनर्निर्माण, पूर्वाधार विकास, व्यापार सहकार्य र आर्थिक अवसर विस्तारका लागि अमेरिकासँगको सहकार्य महत्वपूर्ण हुने बताइन् ।
यसअघि, केही हप्ताअघि युक्रेन र अमेरिकाबीच खनिज उत्खनन् सम्बन्धी सम्झौता हुने योजना बनाइएको थियो। तर, फेब्रुअरी महिनामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच उत्पन्न असमझदारीका कारण उक्त प्रक्रिया प्रभावित भएको थियो । ट्रम्पले अमेरिका–युक्रेन सहायता सन्दर्भमा अमेरिकी पक्षले युक्रेनी खनिज स्रोतबाट हुने नाफाबाट रोयल्टी प्राप्त गर्नुपर्ने धारणा राखेका थिए ।
युलिया स्विरिडेन्कोका अनुसार सम्झदारीको पूर्ण विवरण सार्वजनिक गरिएको छैन, तर अन्तिम सम्झौता सुरक्षित गर्न पहल जारी रहेको छ। उनले भनिन्, “यो कोष युक्रेनको पुनर्निर्माणमा महत्वपूर्ण साधन बन्नेछ ।”
यसबीच, अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापार विस्तारले युद्धविरामलाई सहयोग गर्ने र रुसको सम्भावित भविष्यका आक्रमण रोक्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । किएभले भने निरन्तर रुपमा सैन्य सुरक्षा ग्यारेन्टीसहितको दीर्घकालीन सम्झौताका लागि दबाब दिइरहेको जनाएको छ ।