बारा | जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ । विभिन्न स्थानबाट ३६७ किलो १४० ग्राम गाँजासहित एक भारतीय नागरिकसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट बिहीबार राति ना.५ख २५०४ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाइएको ३०५ किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको उक्त ट्रकसहित लागुऔषध ओसारपसारमा संलग्न तीनजना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुरका राजन लामा (३२), जीवन ठोकर (२७), र ईश्वर लोप्चन (३३) रहेका छन् ।
यसैगरी, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले बाराको प्रसौनी गाउँपालिका–४ स्थित खुटवाको एक घरबाट बिक्री–वितरणको उद्देश्यले लुकाइछिपाइ राखिएको २ किलो १४० ग्राम गाँजा बरामद गरेको छ। सो क्रममा ३१ वर्षीय पवनकुमार साह पक्राउ परेका छन् ।
त्यस्तै, सिम्रौनगढ इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पचरौता नगरपालिका–१ मुसहरीटोलस्थित मकैबारीबाट टाउकोमा बोकी भारततर्फ ओसार्दै गरेका एक भारतीय नागरिकलाई पनि पक्राउ गरेको हो । पक्राउ पर्ने भारतीय नागरिक बिहार, मोतीहारी, बिजवनी थाना, जितना ग्राम रेगनिया निवासी २५ वर्षीय राजबिहारी कुमार रहेका छन् । उनको साथबाट ६० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको छ ।