वीरगंज नजिकै सीमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उद्योगमा भारतीय प्रहरीले अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण तथा कच्चा सामग्री सहित चारजनालाई पक्राउ गरेको छ ।
पोल्ट्री फार्मको आडमा लुकाई राखिएको उक्त हातहतियार बनाउने उद्योगमा १२ घण्टासम्म लगातार छापामारी गर्दै साहुदेखी प्राविधिक सम्मका चारजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोतिहारीको विशेष सूचनाका आधारमा पलनवा थाना क्षेत्रको सिरिसिया गाउँमा पुगेको प्रहरी टोलीले उक्त हतियार उद्योग फेला पारेको हो ।
प्रहरीले घटनास्थलबाट विभिन्न खालका पेस्तोल, कार्बाइन, गोली, हतियार बनाउने कच्चा सामग्री, मोल्ड, ड्रिल मेशिन, वेल्डिङ मेशिन, अर्धनिर्मित पेस्तोल बडी, म्यागजिन, स्लाइडिङ पार्ट, खोका, तलवार लगायतका वस्तुहरू बरामद गरेको छ । बरामद हतियार सामग्री एकीकृत रूपमा सञ्चालनमा रहेको अवस्थामा भेटिएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारजना व्यक्तिहरू मध्ये हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह, उनका बुबा राजेश्वर सिंह, छपरा निवासी अमिताभ शर्मा र मुंगेरका नौयर आलम रहेका छन् । पक्राउ परेका मध्ये नौयर आलम प्रख्यात हतियार प्रशिक्षक मानिएको र उनले मोल्डिङ तथा डिजाइनिङको जिम्मा लिइरहेको अनुसन्धानबाट खुलेको छ । उनले दर्जनौँ हतियार निर्माण गर्ने विभिन्न तालिम दिएको प्रारम्भिक जानकारी भारतीय प्रहरीले दिएको हाे ।
भारतिय प्रहरीले घटनास्थलबाट १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २ थान खोका, १ थान देशी सिक्सर, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १० थान स्लाइडिङ, २० थान म्यागजिन अर्धनिर्मित, ६ थान मोल्ड, ३ थान अर्धनिर्मित बोस, १ थान ड्रिल मेशिन, १ थान वेल्डिङ मेशिन, १ थान तलवार, २ थान ड्रिल मेशिन, १ थान लेथ पुसिन, १ थान श्यामपट्ट, ७ थान अर्धनिर्मित फ्रेम लगायत सामाग्री बरामद गरेको छ ।
यो फ्याक्ट्री सिरिसिया गाउँमा रहेको पोल्ट्री फर्मभित्र लुकाइएको थियो र त्यहाँ दैनिक रूपमा हतियार उत्पादन भइरहेको पक्राउ परेकाहरूबाट खुलेको छ । फार्ममा काम गर्ने मजदुर र फ्याक्ट्री सञ्चालकहरू बीच विभिन्न जिम्मेवारीहरू दिइएको जानकारी खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पंकज सिंहले आफ्नो बुबाको साथमा हतियार बनाउने सम्पूर्ण समान जुटाउने र विभिन्न व्यक्तिहरूलाई सप्लाइ गर्ने गरेको खुलेको छ ।

यस घटनाले नेपाल–भारत खुला सिमानामा भइरहेको आपराधिक गतिविधिको झनै गम्भीर तस्वीर देखाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेकाहरूले बेचेका अधिकांश हातहतियार सीमावर्ती शहरको वारिपारि लुटपाट, हत्या, हिसाँ, अपहरण फिरौती लगायत आपराधिक गतिविधिमा प्रयोग हुने गरेकाे प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा यसरी चलाइएका उद्योगहरूले दुवै देशका लागि सुरक्षा चुनौती बढाएको छ ।
सिरिसिया गाउँ भारत–नेपाल सीमाबाट नजिकै पर्छ र सीमावर्ती क्षेत्र भएकाले यहाँ यस्ता अवैध गतिविधि लुकाउन सक्छन् । प्रहरी स्रोतका अनुसार यस फ्याक्ट्रीमा नेपाल सहित अन्य राज्यमा आपूर्ति गर्ने उद्देश्यले हतियार बनाउने काम हुँदै आएको थियो । यस उधाेगकाे साहु, प्राविधिक पक्राउ परेपनी उधोगबाट कसले के के किने र कहाँ प्रयोग भएको बारे विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएकाे छ ।

भारतीय प्रहरीले यस अपरेशनलाई ठूलो सफलता मानेको छ र भविष्यमा यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप निगरानी बढाउने जनाएको छ । छापामारीमा अनुमंडल पुलिस पदाधिकारी रक्सौलका धीरैन्द्र कुमार, थानाध्यक्ष पलनवाका सीता केवट, थानाध्यक्ष भेलाहीका शाहरुख, थानाध्यक्ष रामगढवाका अमरजीत कुमार, थानाध्यक्ष परसाका सुनील कुमार लगायतको प्रहरी टोलि रहेका थिए ।
- विस्तृत जानकारि लिएर समाचार अध्यावधिक गरिएकाे । - डेस्क