वीरगंज जेसीजले आफ्नो सप्ताह कार्यक्रम अन्तर्गत दलित बालबालिकाहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरेको छ ।
वीरगंज जेसीज सप्ताह २०२५ को अवसरमा शुक्रबार पर्सागढी नगरपालिका–८ मा सञ्चालित निःशुल्क ट्युसन केन्द्रमा अध्ययनरत ५० जना दलित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । सृजनात्मक समाज फाउन्डेसन नेपाल र वीरगंज जेसीजको सहकार्यमा सञ्चालनमा रहेको उक्त ट्युसन केन्द्रमा अध्ययनरत बालबालिकालाई सामग्री वितरण गरिएको वीरगंज जेसीजका अध्यक्ष सरोज चौरसियाले जानकारी दिए । कार्यक्रममा कापी, कलम, ब्याग, पेन्सिल, रङ, स्केच लगायतका सामग्री वितरण गरिएको थियो ।
शिक्षा समानताको दृष्टिकोणले सबै वर्गका बालबालिकालाई आवश्यक स्रोत साधन पुर्याउनु महत्वपूर्ण हुने भन्दै चौरसियाले यस्ता कार्यक्रमले बालबालिकामा अध्ययनप्रति उत्साह जागृत गराउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा निःशुल्क ट्युसन केन्द्रका संयोजक चन्द्र किशोर राम, वडा नम्बर ८ का जनप्रतिनिधिहरू, वीरगंज जेसीजका पूर्व अध्यक्ष गणेशमान श्रेष्ठ, अशोक गुप्ता, अरविन्द श्रेष्ठ, महासचिव रविन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक रामानन्द चौधरी, कार्यसमिति सदस्यहरूलगायतको उपस्थिति रहेको थियो ।
वीरगंज जेसीज सप्ताह २०२५ अन्तर्गत यसअघि वीरगंजमा निःशुल्क स्वास्थ्य शिविर, उत्प्रेरणात्मक तालिम, स्थानीय कलाकार सम्मान लगायतका विविध कार्यक्रम सम्पन्न भइसकेका छन् । वीरगंज जेसीजले समुदाय–केन्द्रित सामाजिक सेवामा क्रियाशीलता बढाउँदै लगिरहेको अध्यक्ष चौरसियाले बताएका छन् ।