बाराको कलैया उपमहानगरपालिका–१, बैंक रोडस्थित नवजन्म पुनःस्थापना केन्द्रमा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र उर्फ प्रदीपप्रसाद मण्डलको मृत्यु प्रकरणमा केन्द्रका सञ्चालक साहेबबाबू मंसुर तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत बाराको १ नम्बर इजलासका माननीय न्यायाधीश कोमलप्रसाद आचार्यले मंसुरलाई धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । अदालतका सूचना अधिकारी कृष्णकुमार साहका अनुसार मंसुरमाथि ज्यान सम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाइएको हो ।
घटनापछि फरार रहेका मंसुर झन्डै दुई महिनापछि बिहीबार आफै अदालतमा उपस्थित भएका थिए । उनी सुधार केन्द्रका प्रमुख सञ्चालक हुन् । घटनामा संलग्न भनिएका मंसुरका भाइ साहिल अली, सुरज साह र राहुल साह भने हालसम्म पनि फरार छन् । यसअघि घटनासँग सम्बन्धित सात जना आरोपित पक्राउ परेका थिए ।
तीमध्ये तमन्ना मंसुरलाई फागुन २८ गते दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो भने अरू ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार पठाइएका व्यक्तिहरूमा कलैया उपमहानगरपालिका–१ का अरुण सर्राफ (२४), सागर गुप्ता (१९), वडा २ का परमेश्वर साह (२१), वडा ३ का सरफराज मंसुरी (१९), वडा ४ का निरज सर्राफ (२२), र वडा ६ का महम्मद आँसु मियाँ (२०) छन् ।
प्रदीपप्रसाद मण्डलको मृत्यु गत माघ महिनामा भएको थियो। उनी सुधार केन्द्रमा भर्ना भएको दुई साता पनि नपुग्दै अनुशासन भंग गरेको आरोपमा कुटपिटमा परेका थिए । सीसीटीभी फुटेजमा उनलाई निलडाम गराउन खोज्दा प्रतिकार गरेपछि केन्द्रका परामर्शदाता र कर्मचारीहरूद्वारा निर्घात कुटपिट गरिएको देखिएको थियो । सोही कुटपिटका कारण मण्डलको मृत्यु भएको थियो ।
उक्त पुनःस्थापना केन्द्र काठमाडौंमा दर्ता भई शाखाको रूपमा बारामा सञ्चालनमा ल्याइएको थियो। घटनापछि पुनःस्थापना केन्द्रको नियमन तथा अनुगमनको अवस्था पनि प्रश्नको घेरामा परेको छ । पीडित पक्षले अझै पनि न्याय नपाएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिरहेका छन् ।