वीरगंज महानगरपालिका–२१ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका मुद्दामा केन्द्रित वडा स्तरीय सहजीकरण समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा सम्बन्धित सरोकारवाला निकाय, राजनीतिक दल, भूमिहिन प्रतिनिधि तथा आयोगका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न बैठकमा भूमि समस्या समाधान आयोग पर्साका जिल्ला अध्यक्ष तबरेज अहमदले आयोगको कार्ययोजना, भूमिहिनलाई जग्गा वितरणसम्बन्धी कानुनी प्रक्रिया र हालसम्मको प्रगति विवरणबारे जानकारी गराएका थिए । उनले आयोगको अभियानलाई पारदर्शी, समावेशी र न्यायसंगत बनाउने उद्देश्यप्रति प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा भूमि समस्या समाधान आयोगकी सर्भेक्षक मिना चौधरी, अमिन सुराज साह, वडा नं. २१ का जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेकाे थियो ।
बैठकमा सहजीकरण समितिले भूमिहिन तथा सुकुम्बासी समुदायका जीवनस्तर सुधारका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै समितिको सक्रियता, निगरानी र समन्वयात्मक भूमिकालाई अझ सशक्त बनाउने योजना पनि तय गरिएको छ ।
सहभागीहरूले जग्गा वितरण प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउँदै आवेदकहरुको विवरण संकलन, जग्गा पहिचान, मापदण्ड निर्धारण र पुनःस्थापना प्रक्रियामा स्थानीय तह, आयोग र समुदायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।