नेकपा एमालेका युवा नेता शिवजी गुप्ताले मधेस खेलकुद परिषद्को सदस्य सचिवको पदभार ग्रहण गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समक्ष गुप्ताले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । गत चैत १९ गते बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले गुप्तालाई मधेस खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गुप्ता औपचारिक रूपमा पदमा प्रवेश गरेका हुन् ।
वीरगंज महानगरपालिका–१५ निवासी गुप्ता नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव समेत हुन्। उनी लामो समयदेखि खेलकुद तथा युवा संगठनमा सक्रिय रहँदै आएका छन् । एमाले निकट युवा संघ नेपालका विभिन्न तहमा नेतृत्व गर्दै आएका गुप्ता हाल प्रदेशस्तरमा खेलकुद क्षेत्रको समन्वय, नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा निर्णायक भूमिका निर्वाह गर्ने जिम्मेवारीमा पुगेका छन् ।
गुप्ताले सपथ पश्चात् प्रतिक्रिया दिँदै भने, “मधेस प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढ्नेछु । आधारभूत संरचना, प्रशिक्षण कार्यक्रम, खेलाडीको उत्थान र प्रतियोगिता आयोजनामा प्राथमिकता दिनेछु ।”
उनले प्रदेशभित्र खेलकुदको पहुँच गाउँगाउँसम्म विस्तार गर्ने, महिला र बालबालिकाको सहभागिता बढाउने, विद्यालयस्तरीय खेलकुदलाई सबल बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता मधेसमा गराउने लक्ष्य रहेको उल्लेख गरे ।
खेलकुद क्षेत्रमा लामो समयदेखिको अनुभवलाई उनले संस्थागत सुधार र युवाको सशक्तीकरणमा रूपान्तरण गर्ने प्रयास गर्ने बताउँदै समावेशी नेतृत्वद्वारा खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।