नेपाली चिकित्सक डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (European Society of Gastrointestinal Endoscopy - ESGE) बाट प्रतिष्ठित Fellow of ESGE (FESGE) डिग्री प्राप्त गर्न सफल भएका छन् । उनी यो उपाधि प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।
यो वर्ष ESGE बाट विश्वभरका १२ जना विशेषज्ञ चिकित्सकलाई यो डिग्री प्रदान गरिएको हो । एसियाली मुलुकहरूबाट भने नेपालका डा. झा र भारतस्थित एशियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी (AIG) का डा. नागेश्वर रेड्डी मात्र यो सम्मानका लागि छनोट भएका छन् ।
डा. झा हाल वीरगंजस्थित ग्यास्ट्रो लिभर क्लिनिक एण्ड इन्डोस्कोपी सेन्टरका सञ्चालक तथा वरिष्ठ ग्यास्ट्रोएन्टेरोलोजिस्ट हुन् । ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, शिक्षा, क्लिनिकल सेवा तथा व्यवसायिक योगदानका आधारमा यो डिग्री प्रदान गरिन्छ ।
एफइएसजीइ उपाधि प्राप्त गर्न ESGE मा कम्तीमा १० वर्षको पेशागत संलग्नता हुनुका साथै दुईवटा विशेष मोड्युल (Module 1 र Module 2) सफलता साथ पूरा गरेको हुनुपर्छ । डा. झाले सन् २०१३ मा बेलायतको जनरल इन्फर्मरी लिड्स युनिभर्सिटीबाट मोड्युल–१ र सन् २०१७ मा भारतको एशियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी, हैदरावादबाट मोड्युल–२ सम्पन्न गरेका थिए ।
डिग्री प्राप्त गरेपछि प्रतिक्रिया दिँदै डा. झाले भने, "एफइएसजीइ उपाधि मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, नेपालका सम्पूर्ण चिकित्सा क्षेत्रका लागि गर्वको विषय हो ।" उनले थपे, "यसले नेपाललाई अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रसँग अझ नजिक ल्याउनेछ र ग्यास्ट्रोइन्टेस्टाइनल सेवाको क्षेत्रमा मुलुकको छवि उजागर गर्नेछ ।"
डा. झा को यो उपलब्धिले नेपाली चिकित्सा क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा उपस्थितिलाई अझ सशक्त बनाएको छ । उनी विगत दुई दशकदेखि नेपालमै आधुनिक ग्यास्ट्रो सेवा विस्तारमा क्रियाशील छन् ।