वीरगञ्ज महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा डुबानको समस्या समाधान गर्न शहरको मुख्य नालाहरूको सफाइ अभियान तीव्र बनाएको छ ।
बजार क्षेत्र विशेषगरी डुबानको उच्च जोखिममा पर्ने भएकाले महानगरले अहिलेको मौसम अनुकूलता प्रयोग गर्दै हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नालाहरूको सरसफाइलाई प्राथमिकताका साथ अघि बढाएको हो । महानगर प्रमुख राजेशमान सिंहका अनुसार, विगतमा वर्षाको समयमा सहर डुब्ने समस्या रहँदै आएकोले अहिले नै सतर्कता अपनाएर सफाइ कार्य सुरु गरिएको हो । “मुख्य नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको हुँदा पानी बग्न नपाएर डुबान हुने अवस्था आउँथ्यो,” उनले भने, “८० प्रतिशत शहरको पानी यही मुख्य नालाबाट बग्ने हुँदा यसको सफाइलाई पहिलो प्राथमिकता दिएका हौँ ।”
प्रमुख सिंहले अहिले मुख्य नालाको सफाइसँगै सहायक नालाहरूको पनि सरसफाइ भइरहेको जानकारी दिए । छपकैया स्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फको सफाइ सकिएपछि अहिले दक्षिणतर्फ भन्सारसम्म सफाइ तीव्र पारिएको हो ।
महानगरपालिकाले सफाइका लागि हाल चारवटा एक्स्काभेटर, एक चेन एक्स्काभेटर र २५ जना सफाइकर्मीलाई दैनिक रूपमा परिचालन गरेको हरियाली तथा सरसफाइ संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।
एक्स्काभेटर पुग्न सक्ने क्षेत्रमा मेसिनबाट र अन्य ठाउँमा मजदुरको सहयोगमा सफाइ भइरहेको छ। नाला सफाइको नियमित अवलोकनमा रहेका प्रमुख सिंहले नागरिक सहभागिता बिना नतिजा हासिल गर्न नसकिने भन्दै जनचेतना फैलाउने अभियानमा पनि जोड दिएका छन् ।
“हामीले पटक–पटक अनुरोध गरिरहेका छौँ, नालामा फोहर नफालौँ। अटेर गरे कानुनी कारबाही पनि गरिनेछ,” उनले चेतावनी दिए ।
विगत दुई वर्षदेखि निरन्तर सफाइका कारण वीरगञ्ज बजार क्षेत्र डुबानमुक्त रहेको उनले दाबी गरे । यसपटकको सफाइ पनि सुरुदेखि अन्तिम बिन्दुसम्म प्रभावकारी बनाइने र भविष्यमा शहरलाई पूर्ण रूपमा डुबान मुक्त बनाउने लक्ष्य लिइएको महानगरले जनाएको छ ।