रौतहट जिल्लामा आइतबार राति दुई बेग्लाबेग्लै स्थानमा भीषण आगलागी हुँदा झण्डै २ करोड रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागी सदरमुकाम गौर र बौधिमाई नगरपालिका–५ कोपवा गाउँमा भएको हो । सबैभन्दा ठूलो क्षति कोपवा गाउँमा भएको छ, जहाँ स्थानीय धर्मेन्द्र जैसवालको घरको अन्डर ग्राउन्डमा रहेको गोदाममा राति साढे ८ बजे विद्युत सर्ट भएर आगो लागेको हो । गोदाममा रहेका लाखौं रुपैयाँ बराबरका रेडिमेड कपडा, चप्पल, मोटरसाइकल, तथा तीनतल्ले घरसहित करिब १ करोड ७६ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि गौर नगरपालिकाको दमकल, बौधिमाईको दमकल, प्रहरी र स्थानियबासीको टोली खटिएको थियो। आगलागी नियन्त्रणमा लिइए पनि ठूलो मात्रामा क्षति भइसकेको प्रहरीको भनाइ छ ।
त्यसैगरी राति ९ बजे गौरको कबिर चोकस्थित कृष्णनन्दन पेटलको कच्ची घरमा आगलागी भएको थियो। आगोको कारण पाँच थान मोटरसाइकल, पानी तान्ने मोटर, कच्ची घरसहित २१ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार दुवै स्थानमा भएको आगलागीबाट जम्मा १ करोड ९७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयस्तरमा विद्युत सुरक्षा र जोखिम न्यूनीकरणका उपायबारे जनचेतना फैलाउनु आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।