आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीच शनिबार हुने भनिएको महत्वपूर्ण खेल प्रतिकूल मौसम र भिजेको मैदानका कारण रद्द भएपछि नेपालले २०२६ को यू–१९ विश्वकप खेल्ने अवसर गुमाएको छ ।
नेपाली क्रिकेट टोलीका लागि यो खेल जित्नैपर्ने अवस्था थियो। तर, वर्षाका कारण मैदान खेल playable हुने अवस्थामा नपुग्दा खेल सुरु नै हुन सकेन । टसअघि नै म्याच रद्द गरिएपछि दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
अफगानिस्तान र नेपालको समान सात–सात अंक भए पनि नेट रनरेटको आधारमा अफगानिस्तान शीर्ष स्थानमा रहँदै विश्वकप २०२६ का लागि छनोट भएको हो। यससँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्न लागेको यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेल काठमाडौंको तल्लो मूलपानी क्रिकेट रंगशालामा बिहान ९:३० बजे सुरु हुने जनाए पनि मैदानको अवस्था खेल उपयुक्त नभएपछि अम्पायर र म्याच रेफ्रीले खेल सम्भव नभएको निर्णय गरेका थिए। विशेषगरी ३० यार्ड सर्कलभित्रको मैदान सुकाए पनि बाउन्ड्री लाइन नजिकको क्षेत्र भिजेकै थियो ।
दिउँसो २ बजेसम्म खेल हुन सक्ने आशा गरिए पनि आउटफिल्ड पुरै नसुक्ने निश्चित भएपछि अन्ततः म्याच रद्द गरिएको हो ।
यसअघि नेपालले आठपटक यू–१९ विश्वकपमा सहभागिता जनाइसकेको छ। पछिल्लो पटक नेपाल २०१६ को संस्करणमा यूएईमार्फत छनोट हुँदै विश्वकप खेलेको थियो ।
नेपालले यस पटक समूह चरणमा शानदार प्रदर्शन गर्दै सिंगापुर, कुवेत र आयोजक मलेसियालाई हराएको थियो। तर, युएईसँगको खेलमा पराजित हुँदा दबाबमा परेको नेपालका लागि अफगानिस्तानविरुद्धको खेल अन्तिम अवसर थियो ।
नेपाल क्रिकेट टोलीका समर्थकहरूबीच खेल रद्द भएपछि निराशा छाएको छ। विश्लेषकहरूले घरेलु मैदानमा तयारी र व्यवस्थापनको कमजोरी पनि नेपालका लागि दुर्भाग्य बनेको बताएका छन् ।