बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार बिहान एक होटल सञ्चालिकामाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवकले गोली प्रहार गरेका छन् ।
गोली लागेर गम्भीर घाइते भएकी २९ वर्षीया टिका विष्ट क्षेत्रीको अहिले चितवनमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार टिका विष्टले बुटवलको बुद्धनगरमा संचालन गर्दै आएको होटल खोलेर बिहान सरसफाइ गरिरहेकै बेला युपी नम्बरको मोटरसाइकलमा आएका एक युवकले उनलाई कम्मरमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारपछि ती युवक फरार भएका छन् ।
घटनापछि छिमेकी र प्रहरीसँग बोल्ने क्रममा घाइते विष्टले गोली हान्ने व्यक्ति भारतीय नागरिक आलम अन्सारी भएको बताएकी छिन् । यद्यपि उनको विस्तृत ठेगाना भने खुलेको छैन । प्रहरीका अनुसार ती युवक पहिलेदेखि नै होटेलमा आउनेगर्ने र विष्टलाई मन पराउने गरेका थिए, तर युवतीले प्रस्ताव अस्वीकार गरेपछि विवाद चर्किएको थियो ।
घटनापछि तीन स्थानमा उपचार प्रयास
घटनापछि टिकालाई तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर गोली शरीरमा गहिरो रहेकाले अस्पतालले सफल उपचार गर्न नसकेपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा रिफर गरेकाे थियो । त्यहाँ पनि अवस्था जटिल रहेपछि उनलाई अहिले चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
प्रेम प्रस्ताव अस्वीकारपछि गोली प्रहारको आशंका
प्रहरी र छिमेकीहरूका अनुसार उक्त युवक प्रेम प्रस्ताव अस्वीकार गरेपछि आक्रोशित थिए । केही दिनअघि उनीहरूबीच भनाभनसमेत भएको र त्यसपछि घटना घटेको हो । स्थानीय वडासदस्य नकुल शाहीका अनुसार, प्रारम्भिक अनुसन्धानले प्रेम अस्वीकारकै कारण गोली प्रहार गरिएको पुष्टि गरिरहेको छ ।
सीमा नाकामा निगरानी, अभियुक्तको खोजी तीव्र
गोली प्रहारमा संलग्न युवक भारतीय हुनसक्ने आशंकाका आधारमा सबै प्रमुख नाका तथा सीमा क्षेत्रहरूमा प्रहरीको निगरानी बढाइएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार युवक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएकोले अनुसन्धानमा विशेष ध्यान दिइएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको जानकारी दिएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।