बारा । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले जिल्ला आन्दोलन परिचालन समिति, बाराले कक्षा १२ को परीक्षा बहिष्कार गर्न आह्वान गरेको छ ।
समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई परीक्षा सञ्चालनसँग सम्बन्धित कुनै पनि कार्यमा सहभागी नहुन अनुरोध गरेको हो । आन्दोलनलाई अझ प्रभावकारी बनाउने रणनीतिको रूपमा यस्तो आह्वान गरिएको जनाइएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष बद्रीनरायण झा, एकीकृत अखिल नेपाल शिक्षक सङगठन बाराका अध्यक्ष रोशन यादव, र नेपाल विद्यालय कर्मचारी परिषद बाराका देवकुमार साहको नाम समावेश छ ।
विज्ञप्तिअनुसार, २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन जारी रहेको र गुणस्तरीय शिक्षा, विद्यार्थी तथा शिक्षक मैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै यो अन्तिम तथा निर्णायक आन्दोलनको रुपमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।
२०८१ चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल सुरु भइसकेको जनाइएको छ। यसैबीच, नेपाल शिक्षक महासङ्घले २०८२ वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्न सम्बन्धित सबैलाई आह्वान गर्दै २०८२ वैशाख ६ गते प्रेस विज्ञप्ति जारी गरिसकेको उल्लेख गरिएको छ ।
यता, जिल्ला प्रशासन कार्यालय, बाराले केही प्रधानाध्यापकहरूलाई केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रममा बोलाएको सूचना आएकोप्रति आन्दोलन परिचालन समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आन्दोलनलाई सफल बनाउन अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका जनप्रतिनिधि तथा सम्पूर्ण शैक्षिक सरोकारवालालाई एकजुट भई समर्थन गर्न पनि समितिले अनुरोध गरेको छ ।