काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासङ्घले देशभर शैक्षिक हड्ताल जारी रहेकाले निजी विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । शैक्षिक आन्दोलनलाई सशक्त बनाउन महासङ्घले सबै तहका विद्यालय पूर्ण रूपमा बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो ।
आइतबार जारी विज्ञप्तिमा महासङ्घले निजी विद्यालय सञ्चालकहरूलाई समेत शैक्षिक हड्तालमा साथ दिन अनुरोध गर्दै विद्यालय बन्द गर्न आग्रह गरेको छ। यससँगै महासङ्घले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा जारी आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेको छ ।
महासङ्घले आन्दोलनको अवधिमा कुनै पनि प्रकारका शैक्षिक गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रवेश परीक्षा, ग्रेड वृद्धि परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता क्रियाकलापमा संलग्न नहुन स्पष्ट रूपमा भनिएको छ ।
यसअघि नै महासङ्घले वैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई केन्द्राध्यक्ष, निरीक्षक लगायतका जिम्मेवारीमा संलग्न नहुन पनि निर्देशन दिइसकेको छ ।
महासङ्घले यो आन्दोलन गुणस्तरीय, सर्वसुलभ र शिक्षकमैत्री विद्यालय शिक्षा ऐनको मागमा केन्द्रीत रहेको जनाएको छ। शैक्षिक हड्ताललाई प्रभावकारी बनाउन सम्पूर्ण शैक्षिक सरोकारवालाहरूलाई साथ दिन महासङ्घले पुनः आह्वान गरेको छ ।