विराटनगर | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक दलहरूभित्र समस्या रहेको स्वीकार गर्दै गम्भीर आत्मसमीक्षा र सुधारको आवश्यकता औँल्याएका छन् । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै पार्टीहरूलाई जनभावनाको सम्मान गर्दै सुधारको बाटो अपनाउन आग्रह गरे ।
प्रचण्डले भने, "माओवादीले एमालेलाई, एमालेले काँग्रेसलाई दोष दिन सक्छन्। तर, सबै पार्टीहरू अलिकति रोगी छन्। पहिलेको जस्तो ताजगी छैन, आन्दोलनकालको जनसङ्गठन हराएको छ ।"
आत्मसमीक्षा नै सुधारको पहिलो पाइला भएको उल्लेख गर्दै उनले थपे, "जब व्यक्तिले आफूमा रोग छ भन्ने बुझ्छ, तब मात्र उपचार सुरु हुन्छ। त्यसै गरी पार्टीहरूले पनि समस्या आत्मबोध गर्नुपर्छ ।"
उनका अनुसार माओवादी केन्द्रले केन्द्रीय समितिबाट आत्मसमीक्षा सुरु गरिसकेको छ। साथै उनले नेपाललाई नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताउँदै स्वदेशी उत्पादन प्रणाली, मौलिक इतिहास र सांस्कृतिक विरासतमा आधारित आर्थिक मोडल निर्माण गर्नुपर्ने धारणा राखे ।
संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली पुनरावलोकन गर्नुपर्ने प्रस्तावसमेत राखे ।
गणतन्त्र पक्षधरहरूबीच एकता कायम हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले आत्मसमीक्षामार्फत मात्र सार्थक एकता सम्भव हुने धारणा व्यक्त गरे। साथै, उनले निजीकरण र उदारीकरणको वर्तमान मोडल पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए ।