जनकपुरधाम । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गरेको छ । आइतबार, जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णव र उनका समर्थकहरूले प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।
महन्त वैष्णवले जनकपुरधामको महत्व र विश्व सम्पदाको सूचीमा रहेका सीताको जन्मस्थलको पहिचानलाई आधार बनाउँदै, जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने आवश्यकताको जोड दिएका छन्। उनले भने, “विश्वभरका सनातनीहरूले मनाउने यो पर्व नेपालका लागि विशेष पहिचानको प्रतीक बनेको छ। यो पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्नु मात्र नेपालको सांस्कृतिक र धार्मिक पहिचानको सम्मान हुनेछ ।”
महन्त वैष्णवले आगामी वैशाख २३ गते मनाइने जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र संस्कृति तथा पर्यटन मन्त्रीलाई ज्ञापनपत्रमार्फत आग्रह गरेका छन्। उनका अनुसार, यस निर्णयले मातृशक्तिको सम्मान गर्दै, राष्ट्रिय एकता र देशको पहिचानलाई मजबुत बनाउन सहयोग पुर्याउने छ ।
ज्ञापन पत्र बुझाउँदै महन्त वैष्णवले भने, “यस पर्वको राष्ट्रिय महत्वको कारण यो दिन सार्वजनिक बिदा दिनु केवल सांस्कृतिक कर्तव्य मात्र होइन, मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुनेछ ।”
जनकपुरधाममा सीता जन्मोत्सवको पर्वले नेपालका सनातनी समुदाय र सम्पूर्ण विश्वका हिन्दू धर्मावलम्बीहरूलाई एक ठाउँमा ल्याउने विश्वास गरिएको छ।