ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको गाडीमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान सवा ५ बजे फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा मे १ च ३०११ नम्बरको बलेरो गाडी एक्कासि आगोको चपेटामा परेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गाडीमा विद्युत् पोलबाट चुँडिएको तार सडकमा झरेर गाडी त्यसमा अल्झिँदा एक्कासि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगो लाग्नेबित्तिकै यात्रुहरूलाई गाडीबाट बाहिर निस्कन मौका नपुगेको र गाडीमा चढेकै अवस्थामा चार जनाको ज्यान गएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, र ताप्लेजुङ फुङ्लिङ–१० का ४२ वर्षीय सवारी चालक दुर्गा भट्टराई रहेका छन् ।
घाइते हुनेमा ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन्। उनीहरू हाल जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत छन् । अस्पताल स्रोतका अनुसार दुवैको अवस्था खतरामुक्त भए पनि शारीरिक रूपमा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आगलागीको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा पुगेको थियो। आगो निभाउन प्रहरी र स्थानीयवासीले समेत सक्दो प्रयास गरेका थिए, तर आगो अत्यन्तै भीषण भएकाले तत्काल नियन्त्रणमा लिन नसकिएको जनाइएको छ ।
घटनास्थलमा रहेका स्थानीयहरूले विद्युत् सञ्जालको सुरक्षामा लापरवाहीका कारण यस्तो भयानक दुर्घटना भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । यस विषयमा नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ शाखाले प्रारम्भिक रूपमा घटनाबारे छानबिन थालिएको जनाएको छ ।
शवहरू पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घाइतेको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ। घटनाले सम्पूर्ण ताप्लेजुङवासी र पीडित परिवारमा शोकको छायाँ फैलिएको छ ।