पूर्व–पश्चिम राजमार्गको स्तरोन्नती परियोजना अन्तर्गत पथलैया–हेटौंडा–नारायणघाट १०० किलोमिटर सडक खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
सडक विभाग, आयोजना निर्देशनालय (ADB), बिशालनगर, काठमाडौँद्वारा प्रस्तावित सो आयोजना अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, सरोकारवालाहरू तथा सरोकार निकायहरूबाट राय तथा सुझाव संकलन गरिएको हो ।
सार्वजनिक सुनुवाइमा नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँ, वडा अध्यक्षहरू, वातावरण तथा वनसँग सम्बन्धित विज्ञहरू र स्थानीयबासीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सडक स्तरोन्नतीबाट हुने सम्भावित फाइदा तथा असरबारे धारणा राखेका थिए ।
आयोजनाले परियोजनाले पार्ने सम्भावित वातावरणीय, सामाजिक र भौतिक प्रभावहरूको विश्लेषणसहितको प्रतिवेदन तयार गरी वातावरणीय स्वीकृतिका लागि अघि बढाइने जनाएको छ । प्रस्तावित सडक स्तरोन्नती अन्तर्गत दुई लेनको सडकलाई चार लेनमा विस्तार गरिनेछ ।
यस क्रममा शहरी क्षेत्रमा ५० मिटर, अर्धशहरी क्षेत्रमा ३७.४ मिटर, र ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर चौडाइ कायम गरिनेछ । १३ स्थानमा जङ्सन सुधार, सर्भिस रोड, साइक्ल लेन, फुटपाथ, ७ स्थानमा आकाशे पुल, १२ स्थानमा अन्डरपास, २ भ्याडक्ट, २० स्थानमा बन्यजन्तु क्रसिङ, २२ नयाँ पुल र २४८ बक्स कल्भट निर्माण गरिनेछ। सडकमा १७८० स्थानमा बत्तीसमेत जडान गरिनेछ ।
आयोजनाका अनुसार निर्माण कार्य पूरा गर्न करिब तीन वर्ष लाग्नेछ भने कुल लागत ५० अर्ब ७ करोड ५९ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ । ईआईए प्रतिवेदनअनुसार सडक विस्तारको क्रममा बारा जिल्लाबाट ६,९८१, मकवानपुरबाट ७,०९८ र चितवन जिल्लाबाट २,०७८ गरी कूल १६,१५७ रुख कटानी गर्नुपर्ने देखाइएको छ ।