मुम्बई | बलिउड अभिनेता सोहेल खान आफ्नो व्यक्तिगत जीवनलाई लिएर पटक–पटक चर्चामा आइरहेका छन् । हालै उनकी पूर्वपत्नी सीमा सजदेहले डिभोर्ससँग सम्बन्धित अनुभवबारे खुलस्त कुरा गरेकी छन् ।
एक अन्तर्वार्तामा बोल्दै सीमाले विवाहमा उनीहरूबीच भइरहने विवाद र त्यसले पार्ने पारिवारिक असरबारे बताएकी छन्। “जब तपाईं यस्तो विवाहमा हुनुहुन्छ, जहाँ निरन्तर झगडा भइरहन्छ, एक–अर्कालाई दोष लगाइरहिन्छ, तब तपाईं आफ्नो बच्चालाई पनि पूर्ण रूपमा समय र माया दिन सक्नुहुन्न,” उनले भनिन् ।
उनले थप भनिन्, “घरमा चिडचिडे बाबुआमा हुँदा त्यसको असर बच्चामा पनि पर्छ। यदि तपाईं आफैँ खुसी हुनुहुन्न भने तपाईंले आफ्नो बच्चालाई खुसी दिन सक्नुहुन्न ।”
सीमाले आफैँ विवाहमा लापरवाह भएको स्वीकार गर्दै भनिन्, “त्यस समयमा मलाई कसैले सोधेको भए म हरेक कुरामा उहाँलाई (सोहेललाई) दोष दिन्थेँ ।”
सोहेल खान र सीमा सजदेहले सन् १९९८ मा भागेर विवाह गरेका थिए। तर, लामो समयको वैवाहिक सम्बन्धपछि सन् २०२२ मा उनीहरू अलग भएका थिए ।
सीमा पेशाले फेसन डिजाइनर हुन् भने सोहेल खान अभिनेता, निर्माता र निर्देशकका रूपमा सक्रिय छन् ।