सिरहा | सिरहाली युवाहरुको एक समूहले सोमबार सिरहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुनिल कुमार कुशवाहालाई अस्पताल सुधारको माग राख्दै १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
सिरहा नगरपालिका वडा–६ का वडा अध्यक्ष इन्द्रजित गोठिया यादवको पहलमा प्रस्तुत ज्ञापनपत्रमा अस्पतालमा भइरहेको भ्रष्टाचार, अनियमिता, औषधि खरिदमा कमिसनको चलखेल, राज्यको रकम हिनामिना र सेवाग्राहीले भोगेका दुःख कष्टको विरुद्धमा सुधारका लागि माग राखिएको छ ।
समूहले मेसु डा. सुनिल कुमार कुशवाहालाई कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । यस ज्ञापनपत्रमार्फत उनीहरुले अस्पतालमा व्याप्त अनियमितता र अव्यवस्थाको तत्काल अन्त्य गर्नुपर्ने माग राख्दै तीन दिने अल्टिमेटम दिएको सिरहाका वडाअध्यक्ष यादवले जानकारी दिएका छन् ।
ज्ञापनपत्रमा अस्पतालमा गरिएको औषधि खरिदको हिसाब, म्याद सकिएका औषधिहरूको तथ्यांक, ल्याब समान र रिऐजन्टहरूको हिसाब, आमा सुरक्षा कार्यक्रमको तथ्यांक लगायतका कागजात माग गरिएको छ । साथै, अस्पतालका कर्मचारीहरूको नामावली, खर्चको बैंक स्टेटमेन्ट, कर्मचारीहरूको तलव भत्ता व्यवस्था, सरसफाइ, ड्रेस कोड र कार्यतालिका लगायतका व्यवस्थापन सुधारका लागि पनि आग्रह गरिएको छ ।
अस्पतालमा पारदर्शिता सुनिश्चित गर्नका लागि अस्पतालका मे.सु. र अध्यक्षलाई दिनहुँ कार्यालयमा बस्ने व्यवस्था र प्रत्येक महिनामा गरिएका शल्यक्रिया, औषधि वितरण, मृत्यु भएका बिरामीको तथ्यांक सार्वजनिक गर्न पनि माग गरिएको छ ।

