जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनामा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक विशेष विचार गोष्ठी सोमबार जनकपुरधाम नजिकैको देवडिहामा सम्पन्न भएको छ ।
गोष्ठीको केन्द्रबिन्दु पुरी शंकराचार्यका कृपापात्र शिष्य तथा कलकत्ता हाईकोर्टका वरिष्ठ अधिवक्ता प्रेमचन्द्र झा थिए । गोष्ठीमा उनले धर्म, अध्यात्म र राष्ट्रबोधको गहन सम्वन्धबारे विचार प्रस्तुत गर्दै समाजलाई आध्यात्मिक चेतनाबाट राष्ट्रप्रेमतर्फ अघि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा देवचन्द्र झाले अध्यक्षता गरेका थिए । उनले भगवान शंकराचार्यलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा पनि गरेका छन् ।
कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर र शुभास झालगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सीमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै सीमालाई पूर्ण रुपमा खुला नै राख्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध उजागर गर्नुका साथै नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ ।