जनकपुरधाम | दुई दिनअघि मात्र मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मंगलवार विशेष अदालतमा उपाध्यायसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो। मुद्दा दायर भएपछि उपाध्याय स्वतः मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट निलम्बनमा परेका छन् ।
सोमबारमात्र उनले मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाट शपथ लिएका थिए ।
अख्तियारका अनुसार बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐन उल्लङ्घन गर्दै कुनै विज्ञापन नछपाई आर्थिक अनियमितता गरेको पाइएपछि उपाध्याय दोषी देखिएका हुन् । उनी केएस मल्टिपर्पस प्रालिका अध्यक्ष समेत हुन् ।
आयोगले सोही प्रकरणमा पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अनुसार कसुर गरेको ठहर गर्दै तीन लाख ५२ हजार ५६० रुपैयाँ बराबरको बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले सञ्चालन गरेका ठेक्काहरूको बोलपत्र सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नु पर्नेमा स्थानीय ‘प्रभाव दैनिक’ मा मात्र सूचना प्रकाशित गरी झुट्टा विवरण पेश गरी केएस मल्टिपर्पस प्रालिलाई उक्त रकम भुक्तानी गरिएको अख्तियारको भनाइ छ ।