दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला र उनका परिवारजनलाई पर्सा जिल्ला अदालतले कैद, जरिवाना र दाइजो रकम फिर्ताको आदेश दिएको छ ।
२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४ स्थित रमिता कुमारी साहको विवाह समारोहमा बेहुला उमेश साह र उनका आफन्तहरूले दाइजोको अतिरिक्त माग राख्दै विवाह मण्डपमै झगडा गरेपछि विवाह नै रोकिएको थियो । पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय उमेश साह, उनका बुवा बच्चालाल साह, दाजु राकेश साह, मुकेश साह र भिनाजु रामएकबाल साहलाई विवाहसम्बन्धी कसूर अन्तर्गत दोषी ठहर गर्दै प्रत्येकलाई ६–६ महिनाको कैद सजाय, जनही ५ हजार रुपैयाँ जरिवाना र दाइजो स्वरूप लिएको ५ लाख ६५ हजार रुपैयाँ पीडित पक्षलाई फिर्ता गर्न आदेश दिएको हो ।
२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित बेहुलीको घरमा विवाह समारोह भइरहेको थियो। कार्यक्रम सामाजिक र परम्परागत ढाँचामा सञ्चालन भैरहेको अवस्थामा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए ।
विवादले उग्र रूप लिएपछि गालीगलौज, धक्का-मुक्का र कुटपिटसम्म पुगेको थियो । अन्ततः बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।
मुद्दा दर्ता र अनुसन्धान
घटनाको भोलिपल्ट, २०७९ फागुन २९ गते बेहुली पक्षले पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीको सक्रियतामा बेहुलासहित पाँचै जनालाई सोही रात नियन्त्रणमा लिइएको थियो। उनीहरूमाथि "विवाह सम्बन्धी कसूर" अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
केही दिनपछि अदालतले धरौटीमा रिहा गरे पनि अदालतको हालैको फैसलाले सबैलाई दोषी ठहर गर्दै सजाय, जरिवाना र दाइजो रकम फिर्ता गर्न आदेश दिएको हो ।
अदालतको यो फैसलाले दाइजो प्रथाको दुरुपयोग, महिला अपमान र सामाजिक अपहेलनाका घटना विरुद्ध कठोर सन्देश दिएको छ ।