आश्रमलाई वीरगंज महानगरपालिकाबाट नियमित रूपमा दिइँदै आएको मासिक आर्थिक सहयोग रोकिएपछि आश्रमको सञ्चालनमा गम्भीर समस्या देखिएको हो ।
मानवसेवा आश्रम वीरगंजका संस्थापक संयोजक देवेश मानवसेवाका अनुसार महानगरपालिकाले २०७४ सालको जेठ १५ गते आश्रम स्थापना भएदेखि मासिक रु एक लाख सहयोग गर्दै आएको थियो ।
तर चालू आर्थिक वर्षदेखि उक्त सहयोग रोकिएपछि आश्रममा तलब, खाना, औषधोपचार, बिजुली र खानेपानीजस्ता आवश्यक खर्च व्यवस्थापनमा कठिनाइ भएको उनले बताए । आश्रम सञ्चालनका लागि मासिक साढे तीन लाख रुपैयाँ बराबरको खर्च लाग्ने र त्यसमा महानगरको सहयोग ठूलो राहतको रूपमा रहेको उनले स्पष्ट पारे ।
उनले भने, "खाद्यान्न, नगद र अन्य मासिक सहयोग केही व्यक्तिहरू र संघसंस्थाबाट आउँछ, तर त्यो अपुग हुन्छ । महानगरको सहयोग रोकिएपछि झनै समस्या बढेको छ ।" त्यसमाथि, महानगरले अघिल्लो वर्ष नयाँ भवन निर्माणका लागि २५ लाख सहयोग दिने घोषणा गरे पनि अहिलेसम्म उक्त रकम पनि प्राप्त नभएको जनाइएको छ। भवन निर्माण भने विभिन्न दाताहरूको सहयोगमा अघि बढिरहेको छ ।
मानवसेवा आश्रम वीरगंजले हाल दुई स्थानबाट सेवा सञ्चालन गरिरहेको छ । वीरगंज महानगरपालिका-२४ श्रीसिया खल्वाटोलामा रहेको वृद्धाश्रम भवन र महानगरपालिका-१५ लक्ष्मणवा स्थित आश्रमको आफ्नै भवनबाट सेवा विस्तार हुँदै आएको छ । आश्रममा हाल महिला मात्र राखिएका छन् भने पुरुष आश्रितहरूलाई हेटौंडा आश्रममा स्थानान्तरण गरिएको छ ।
आश्रमले हाल लायन्स क्लबको सहकार्यमा नयाँ भवन निर्माणको एक ब्लक सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सो ब्लकमा पुरुष आश्रितहरू राखिनेछ । यसअघि महिला र पुरुषलाई एउटै ब्लकमा राखिँदै आएको थियो। तर, केही महिना अघि वीरगंजबाहिरको आश्रममा अप्रिय घटना भएपछि महिला र पुरुषलाई छुट्टै ब्लकमा राख्ने निर्णय गरिएको हो ।
संस्थापक देवेश मानवसेवाले आश्रमको आर्थिक अवस्था र सञ्चालनमा देखिएको समस्याबारे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । तर मेयर सिंहले महानगर आफैँ आर्थिक समस्यामा रहेको जनाउँदै सहयोग स्थगित गरिएको बताएका छन् ।
मानवसेवा आश्रम वीरगंजमा रहेका धेरै जेष्ठ नागरिक, बेवारिसे, असहाय र मानसिक रूपमा अशक्त व्यक्तिहरूका लागि आश्रयस्थल हो ।