बाराको पथलैया चोकमा प्रहरीले ६ किलो अवैध चाँदी नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट तुलसीपुर, दाङ जाँदै गरेको यात्रुबाहक बसबाट लुकाईछिपाई राखिएको चाँदी प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बा।प्र।३–०३–००५ ख ३२५६ नम्बरको बस पथलैया चोकस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै चेकजाँचका लागि रोकेको थियो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले उक्त बसको चेकजाँच गर्ने क्रममा सिटको मुनी, क्याबिन भित्र लुकाई राखिएको अवस्थामा उक्त चाँदी भेटिएको हो । प्रहरीले दिएको जानकारीअनुसार, चाँदीहरू टेपले बेरेर कार्टुनभित्र राखिएका थिए। शंकास्पद रूपमा देखिएपछि खोलेर हेर्दा उक्त कार्टुनमा तयार पारिएका विभिन्न प्रकारका रेडिमेड गहना जस्तै औंठी, चुरा, सिक्री, झुम्का लगायतका चाँदीका गरगहना भेटिएको हो ।
बरामद गरिएको चाँदीको अनुमानित मूल्य करिब १० लाख ८० हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, चाँदी वेवारिसे अवस्थामा फेला परेपछि हालसम्म कसैले आफ्नो दाबी नगरेको र घटनासँग सम्बन्धित व्यक्तिको अनुसन्धान भइरहेको जनाएको छ ।
साथै, उक्त चाँदी आवश्यक कानुनी प्रक्रिया पुरा गरी राजश्व अनुसन्धान विभागलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बारा प्रमुख डीएसपी रामकृष्ण पन्थले जानकारी दिएका छन् ।
प्रहरीले हालसालै भन्सार छली गरी भारत वा अन्य स्थानबाट ल्याइने गरगहना तथा कीमती धातुका सामग्रीहरू सार्वजनिक यातायात प्रयोग गरी तस्करी हुने सुचनाको अधारमा उक्त चाँदी बरामद गरेको बारा प्रहरीले जनाएको छ ।