वीरगंजस्थित ओम हस्पिटलले आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको अवसरमा नयाँ भवनबाट सेवा विस्तार गरेको छ ।
सुरुवाती चरणमा १५ शय्याबाट सञ्चालनमा आएको अस्पताल अब वीरगंज महानगरपालिका–१५ भिशुवास्थित नेशनल मेडिकल कलेज जाने बाटोमा ५० शय्याको अत्याधुनिक मल्टी स्पेसियालिटी अस्पतालका रूपमा सञ्चालनमा आएको हो ।
अस्पतालका सञ्चालक तथा प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. जगत् दीप पटेलका अनुसार नयाँ भवनमा अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै अब स्त्री रोगसँगै बाल रोग, हाड जोर्नी, नशा सम्बन्धी र जटिल रोगहरूको उपचार सेवा प्रदान गरिनेछ ।
उनले इन भिट्रो फर्टिलाइजेसन (IVF) सेवा विस्तार भइसकेको जानकारी दिँदै चितवनको भरतपुर क्यान्सर अस्पतालबाट विशेषज्ञहरू ल्याएर क्यान्सर उपचार सेवा सुरु गरिने बताए । साथसाथै, वीरगंजमै जटिल ल्याप्रोस्कोपी शल्यक्रिया निरन्तर जारी रहने पनि उनले बताए ।
डा. पटेलले सेवाग्राहीहरूलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा प्याकेज पनि ल्याइएको जानकारी दिए । “आर्थिक रूपमा सहज होस् भन्ने उद्देश्यले विभिन्न प्याकेजहरू तयार पारिएको हो,” उनले भने ।
वरिष्ठ चिकित्सक प्रा. डा. प्रमोद कुमार सर्राफ र डा. पटेलले संयुक्त रूपमा नयाँ भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै डा. सर्राफले ओम हस्पिटलले वीरगञ्ज तथा आसपासका क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा दिँदै आएको उल्लेख गर्दै नवौँ वर्षको यात्रा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यसअघि वीरगंज महानगरपालिका–३ स्थित नापी कार्यालय नजिक सञ्चालनमा रहेको ओम हस्पिटलले छोटो समयमा नै स्थानीयको विश्वास जित्न सफल भएको थियो । अब नयाँ भवन र सेवा विस्तारपछि अस्पतालले वीरगञ्जलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने लक्ष्य लिएको छ ।
कार्यक्रममा स्थानीय समुदाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।