सशस्त्र प्रहरी बल नेपाल, नं.१२ गण हेड क्वाटर बाराले १८औं स्थापना दिवस मनाएको छ ।
कलैया उपमहानगरपालिका–१६, उत्तरझिटकैयामा आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा औपचारिक समारोह सहित दिवस मनाएकाे हाे । सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनीका बाहिनीपति कालीदास धौबजीले परेवा र बेलुन उडाएर तथा केक काटेर स्थापना दिवसको उद्घाटन गरेका थिए ।
उनले सशस्त्र प्रहरी बलले सीमासुरक्षादेखि विपद् व्यवस्थापनसम्म उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू नियन्त्रण गर्न थप सक्रियताका साथ लाग्न निर्देशन दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नं.१२ गण हेड क्वाटरको संक्षिप्त इतिहाससमेत प्रस्तुत गरिएको थियो । नेपाल सरकारको मन्त्रिपरिषदको २०६३ फागुन ९ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय बारा स्थापना गरिएको थियो । २०७० फागुन २२ गतेदेखि उत्तरझिटकैयामा १४ बिघा १० कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरी कार्यालय सञ्चालन गरिएको हो । गृह मन्त्रालयको २०७५ जेठ २७ गतेको निर्णयअनुसार यस कार्यालयको स्तरोन्नति भई “नं.१२ गण हेड क्वाटर बारा” को रूपमा नामकरण गरिएको थियो ।
स्थापना दिवसको अवसरमा शहिद परिवारहरूलाई सम्मानस्वरूप प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, तथा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जनमत पार्टीका नेता शिवनाथ पटेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटरका गणपति खुमबहादुर के.सी.काे सभाापतित्वमा समपन्न भएकाे थियाे ।