भारत र पाकिस्तानबीचको ऐतिहासिक तनावको मूल जरा मानिने कास्मिर विवाद फेरि चर्किएको छ ।
मङ्गलवार जम्मु–कास्मिरको अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध पाँच आक्रामक निर्णय सार्वजनिक गरेको छ ।
उक्त घटनामा नेपालका नागरिकसहित २८ जना पर्यटकको ज्यान गएको पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, आतंकवादीहरूले पर्यटकहरूलाई लक्षित गरी हमलाको योजना बनाएका थिए, जसमा विशेषगरी हिन्दू धर्मावलम्बीहरू छानिछानी मारिएको दाबी गरिएको छ ।
घटनाको भर्त्सना नेपालसहित विश्वभरका देशहरूले गरेका छन् । तर घटनापछि भारत र पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध झनै तिक्त बनेको छ । अमेरिकाका उपराष्ट्रपति जेडी भेन्स भारत भ्रमणमा रहेका बेला कास्मिर आक्रमण भएकोले यो घटना थप संवेदनशील बन्दै गएको छ ।
भारतका पाँच प्रमुख निर्णय:
१. इन्दुस नदी सम्झौता स्थगन:
सन् १९६० मा भारत र पाकिस्तानबीच भएको इन्दुस जल सम्झौता, जसमा विश्व बैंकको समेत प्रमुख भूमिका रहेको थियो, भारतले स्थगन गरेको छ । अघिल्ला युद्ध वा तनावमा पनि स्थगन नगरिएको यो सम्झौता पहिलोपटक आतंकवादी हमलापछि रोकिएको हो ।
२. पाकिस्तानी नागरिकलाई भिसा निषेध:
भारतले पाकिस्तानी नागरिकहरूलाई दिँदै आएको भिसा अब नदिने निर्णय गरेको छ । हाल भारतमा रहेका पाकिस्तानीलाई ४८ घण्टा भित्र देश छोड्न आदेश दिइएको छ ।
३. अटारी सीमा बन्द:
भारतले पाकिस्तानसँगको प्रमुख स्थल सीमा अटारी बन्द गर्ने निर्णय गरेको छ । साथै, संयुक्त सुरक्षा जाँच चौकी समेत बन्द हुने जानकारी भारतीय विदेश सचिव विक्रम मिश्रीले दिएका छन् ।
४. पाकिस्तानबाट भारतीय कूटनीतिक कर्मचारी फिर्ता:
घटनापछि भारतले पाकिस्तानस्थित आफ्ना कूटनीतिक कर्मचारीहरूलाई फिर्ता बोलाएको छ । यसले दुई देशको कूटनीतिक सम्पर्कमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
५. पाकिस्तानी कूटनीतिज्ञ घटाउने निर्णय:
भारतले पाकिस्तानका कूटनीतिज्ञ संख्या घटाउने निर्णय गर्दै ५५ कर्मचारीमध्ये २५ जनालाई सात दिनभित्र भारत छाड्न निर्देशन दिएको छ ।