जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सिन्धु रानीबीच सम्बन्धविच्छेदको मुद्दा सहमतिमा टुंगिएको छ । उनीहरू सम्बन्धविच्छेद नगरी अलग–अलग बस्न राजी भएका छन् ।
०८१ भदौं १२ गते ललितपुर जिल्ला अदालतमा डा. राउतले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका थिए। मंगलबार न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश दिएपछि बुधबार दुबै पक्षबीच सहमति भएको हो ।
सहमति अनुसार डा. राउतले पत्नी सिन्धुलाई आजीवन मासिक ३३ हजार रुपैयाँ दिनेछन्, जुन रकम प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि हुनेछ । साथै, राउतले आफ्नो सम्पत्तिको पाँच भागमध्ये एक भाग पत्नीलाई दिने, र सन्तानसँगै बस्ने तथा सन्तानको पालनपोषण आफैं गर्ने जिम्मेवारी लिने सहमति भएको छ ।
भविष्यमा डा. राउतले गर्ने कमाईमा पत्नी सिन्धु रानीको कुनै हक हुनेछैन। साथै, काठमाडौंमा दिएको जग्गामा घर बनाइदिने सहमति पनि भएको छ ।
मधेश क्षेत्रमा पत्नीविरुद्ध मुद्दा दायर गरेपछि डा. राउत आलोचित भएका थिए। पत्नीले सम्बन्धविच्छेद नचाहेको अवस्थामा जबरजस्ती अलग्गिन खोजेको आरोप समेत लागेको थियो। यिनै दबाबका कारण अन्ततः सहमतिको बाटो रोजिएको बुझिएको छ ।
अहिले दुबै पक्ष एकअर्काविरुद्ध मिडियामा बोल्ने नगर्ने सहमति भएको राउत निकट स्रोतले जनाएको छ ।
सम्बन्धविच्छेद सहमतिपछि डा. राउतले आफ्नो सचिवालयको फेसबुक पेजमा पत्नी सिन्धुसँगको तस्बिर सेयर गरेका छन्। समर्थकहरूले यो सहमति स्वागत गर्दै खुशी व्यक्त गरिरहेका छन् ।
यद्यपि, कानुनी रुपमा उनीहरू अझै पनि श्रीमान–श्रीमतीकै सम्बन्धमा रहनेछन् र अर्को विवाह गर्न नपाउनेछन्। व्यवहारिक रुपमा भने दुवै अलग–अलग बस्नेछन् ।
सम्बन्ध बिग्रँदा दुवैले एकअर्काविरुद्ध गम्भीर आरोप लगाएका थिए। सिन्धु रानीले राउतमाथि नयाँ विवाहका लागि अलग्गिन खोजेको, ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी थिइन् । राउतले पत्नीले आत्महत्या वा हिंसा गर्न सक्ने भन्दै आफैं असुरक्षित महसुस गरेको जनाएका थिए ।
यसरी आरोप–प्रत्यारोपबीच सुरु भएको मुद्दा अन्ततः सहमतिमा टुंगिएको हो ।