बाराको देवताल गाउँपालिका–७ स्थित बेनौली चोकमा बिहीबार राति भएको भीषण आगलागीमा तीनवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिब दुई लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बेनौली चोकमा रहेको बिनोद साहको घरको गुम्ती पसल भाडामा लिई सञ्चालन गरिएको ललन महतोको नास्ता पसलमा अचानक आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महतोको पसलमा रहेको दुईवटा ग्यास सिलिन्डर, दुईवटा ग्यास चुलो, दुई कार्टुन अण्डा, चिउरा, भुजा, फर्निचर तथा सिलिङ फ्यान जलेर नष्ट भएका छन् । उक्त सामाग्रीको मूल्य करिब १ लाख ४८ हजार रुपैयाँ बराबरको अनुमान गरिएको छ । सोही आगलागीमा जमुन ठाकुरको सैलुन समेत पूर्णरूपमा जलेको छ ।
ठाकुरको सैलुनमा ३० हजार रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ । यस्तै, बेनौलीकै भोज मियाको मासु पसलमा समेत आगलागीले क्षति पुर्याएको छ । उनका घुम्ती, फ्रिज, तौल यन्त्रलगायतका उपकरण तथा मासु सामग्री गरी ३५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार आगलागी विद्युत सर्ट भएर वा ग्यास लिकेज भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, पूर्ण विवरणका लागि थप अनुसन्धान भइरहेको बताइएको छ ।
घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो । दमकल, प्रहरी र स्थानीयवासीहरूको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो । आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा प्रकाश ठाकुरका अनुसार राति ८ बजेतिर अचानक नास्ता पसलबाट धुँवा निस्किएको देखिएको थियो । "हामी दौडिएर गयौं, आगो ठूलो थियो, ग्यास बलिरहेको थियो, दमकल नआएको भए अरू पसल पनि खरानी हुन्थे," उनले भने ।
प्रहरीले आगलागीबाट क्षतिग्रस्त सम्पत्तिको मूल्याङ्कन गरी पीडितलाई राहतको सिफारिस गर्ने तयारी भइरहेको जनाएको छ ।