काठमाडौं । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै बिहीबार साँझ प्रधानमन्त्री ओली र सभापति देउवाबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिइन् ।
उनले भनिन्, "केही समय मौनता भयो भने न्युजहरू आउने गर्छ, अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ। सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार त परिवर्तन हुँदैन ।"
बिहीबार कांग्रेस महामन्त्री गगन थापाले ‘पर्यो भने सरकारबाट बाहिरिन्छौं’ भन्ने अभिव्यक्ति दिएका थिए भने उपसभापति पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सभापति देउवा स्वदेश फर्केपछि नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।
त्यसै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलको बैठकमा थाइल्याण्ड जानुअघि सभापति देउवाको फोन आएको, आफूले शुभयात्रा भनेको भन्दै जानकारी गराएका थिए ।
सरकारले आन्दोलनरत शिक्षकका माग बेवास्ता गरेको र गभर्नर नियुक्तिमा ढिलाइ भएकोजस्ता विषयले सत्ता गठबन्धनभित्र दरार आएको चर्चा चलिरहेको छ ।
यसबारे स्वदेश फर्केपछि सभापति देउवालाई पत्रकारहरूले सोध्दा उनले सरकारमा केही गडबडी नभएको दाबी गरे। "गठबन्धन जस्तो छ, ठिक छ। केही भएको छैन," उनले भने ।
पत्रकारले सत्ता समीकरण परिवर्तन हुँदैछ भन्ने प्रश्नमा देउवाले भने, "कसले भन्यो मलाई थाहा छैन ।"
नेपाली कांग्रेस र एमालेबीच २०८१ असार १७ गते ७ बुँदे सहमति भएको थियो। त्यसैका आधारमा असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । सहमतिअनुसार आलोपालो सरकार नेतृत्व गर्ने सम्झौता छ, जसअनुसार अबको १५ महिनापछि ओलीले देउवालाई सत्ता सुम्पिने बताइएको छ ।