हालै सम्पन्न वीरगंज उद्योग वाणिज्य संघको निर्वाचनले यहाँका उद्योगी–व्यवसायीहरूबीच ठूलो असन्तुष्टि पैदा गरेको छ ।
संघको नयाँ कार्यसमिति चयन भए पनि अधिकांश उद्योगी व्यवसायीहरूले त्यसप्रति चासो नै देखाएनन् । संघको सभाहलमै आयोजित शपथ ग्रहण समारोहमा समेत बहुसंख्यक उद्योगी व्यवसायीहरू अनुपस्थित रहे ।
स्थानीय व्यवसायीहरूका अनुसार संघ केही निश्चित औद्योगिक घरानाको नियन्त्रणमा सीमित हुँदा अन्य व्यवसायीहरूको विश्वास र सहभागिता खस्किएको हो । वीरगंज उद्योग वाणिज्य संघले यहाँका व्यवसायीहरूलाई समेट्न नसकेको आरोप लाग्दै आएको छ। संघभित्र सदस्यता वितरणदेखि नेतृत्व चयनसम्म ‘कार्टेलिङ’ भएको संघकै एक पदाधिकारीले off the record बताउँछन् ।
सदस्यता वितरणमै विभेद
वीरगंज उद्योग वाणिज्य संघमा जम्मा ६ सयजना मात्र सदस्य छन् । यस्तो सीमित सदस्यता हुँदा संघमा आम व्यवसायीहरूको पहुँच नै छैन । विशेषतः एकै व्यवसायीले हजुर बा देखि नातिसम्मकाले विभिन्न नाममा खोलेका ५ देखि १० वटा फर्ममार्फत सदस्यता लिएका कारण नेतृत्व छनोटमा उनीहरूको मात्र पकड देखिएको छ ।
त्यसैको परिणामस्वरूप संघको नेतृत्व बारम्बार त्यही समूहभित्र सीमित हुने गरेको छ । हालै निर्वाचित अध्यक्ष हरि प्रसाद गौतम पनि त्यही निरन्तरताको उदाहरण भएको व्यवसायीहरूको टिप्पणी छ । “यदि खुला, स्वतन्त्र र आम व्यवसायीको मतदानबाट अध्यक्ष चयन हुन्थ्यो भने, हरि गौतमजस्ता अपरिचित अनुहारहरू कहिल्यै संघको नेतृत्वमा आउँदैन थिए,” एक व्यवसायीको भनाइ छ ।
गौतम व्यवसायमा अाउनुअघि जनकपुर चुरोट कारखाना र वीरगंज चिनी कारखानामा महाप्रबन्धक (जीएम) पदमा काम गरिसकेका कर्मचारी हुन् । यो पृष्ठभूमिका कारण पनि धेरै व्यवसायीहरू संघलाई सरकारी निकायसरह ब्युरोक्रेटिक निष्क्रिय बनाइने आशंकामा छन् ।
अन्य क्षेत्रभन्दा पछि पर्यो वीरगंज उधाेग वाणिज्य संघ
मधेस प्रदेशकै आर्थिक राजधानी मानिने वीरगंजको उद्योग वाणिज्य संघमा जम्मा ६ सय सदस्य हुँदा जनकपुर, लहान, चन्द्रपुर, सिमरा, जितपुर–कलैयाजस्ता क्षेत्रका संघमा ७–८ हजार सदस्य रहेका छन् । आर्थिक र औद्योगिक मापदण्डमा वीरगंजभन्दा कमजोर रहेका क्षेत्रका संघमा समेत खुला सदस्यता प्रणाली र व्यावसायिक समावेशिता देखिनु वीरगंजका लागि लज्जास्पद विषय भएको व्यवसायीहरूको गुनासो छ ।
बैकल्पिक संगठन खोल्ने तयारी
संघप्रति वितृष्णा बढ्दै जाँदा केही व्यवसायीहरूले नयाँ संगठन खोल्ने प्रस्तावसमेत अघि सारेका छन् । उनीहरूले सबै व्यवसायीलाई आ–आफ्नो फर्मको दर्ताका लागि संघमा निवेदन दिन आह्वान गरेका छन् । यदि संघले दर्ता नगरे बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् । “अब समय आएको छ, वीरगंज उद्योग वाणिज्य संघको विकल्प खोज्ने,” एक व्यवसायीले भने ।
सुनचाँदी व्यसायी संघ उदाहरण
यसबिच, वीरगंजमै रहेको सुनचाँदी व्यवसायी संघमा वीरगंज उद्योग वाणिज्य संघभन्दा बढी सदस्यता रहेको तथ्य पनि बाहिर आएको छ । त्यहाँको चुनाव लोकतान्त्रिक ढंगले सम्पन्न हुने गरेको उदाहरण दिँदै व्यवसायीहरूले सो संघबाट सिक्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
वीरगंज उद्योग वाणिज्य संघ केही सिमित व्यक्तिहरूको व्यक्तिगत प्रतिष्ठा र राजनीतिक प्रभाव विस्तार गर्ने थलोमा सीमित हुँदै गएको आरोपहरू व्यापक रूपमा उठेका छन् । संघलाई साँच्चिकै सबै व्यवसायीको साझा संगठन बनाउने हो भने नेतृत्व चयन प्रक्रिया सुधार, खुला सदस्यता, समावेशीता र पारदर्शिता अनिवार्य रहेको व्यवसायीहरूको धारणा छ ।