कोरोना महामारीको समयमा तत्कालीन सांसद विमलप्रसाद श्रीवास्तवको पहलमा नारायणी अस्पताल, वीरगंजमा जडान गरिएको अक्सिजन प्लान्ट विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको छ ।
करिब दुई करोड रुपैयाँ लागतमा स्थापना गरिएको सो प्लान्ट अस्पतालले आवश्यक मर्मतसम्भार खर्च जुटाउन नसक्दा ठप्प भएको हो । जर्मन प्रविधिको सो अक्सिजन प्लान्ट अस्पतालका सबै वार्डहरूमा निरन्तर अक्सिजन आपूर्ति गरिरहेको थियो । तर, मर्मत सम्भारका लागि आवश्यक रकम अभाव भएपछि प्लान्ट बिग्रिँदै गएको विक्रेता कम्पनी सबितु हेल्थ इन्टरनेशनल प्रालिका बिक्री तथा प्राविधिक प्रमुख इन्जिनियर राहुल शर्माले जानकारी दिए ।
उनका अनुसार सो प्लान्टबाट उत्पादित अक्सिजनको शुद्धता उच्चस्तरको रहेको र बिरामीहरूलाई अत्यधिक लाभ मिल्दै आएको थियो । "अस्पतालले मासिकरूपमा आवश्यक मर्मतसम्भार खर्च व्यहोर्न नसकेपछि अहिले दुई करोडको प्लान्ट जङ्गिदै छ," शर्माले बताए ।
शर्माका अनुसार यो जर्मन प्रविधिको प्लान्टले २४ घण्टा निरन्तर अक्सिजन उत्पादन गर्न सक्छ र ५०० लिटर अक्सिजन भण्डारण गर्ने क्षमता राख्दछ । प्रत्येक चार हजार घण्टा सञ्चालनपछि प्लान्टको नियमित मर्मत आवश्यक हुने र त्यसका लागि करिब ६ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए ।
वैकल्पिक प्लान्टमार्फत आपूर्ति
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले अस्पतालले स्वास्थ्य मन्त्रालयले जडान गरेको अर्को अक्सिजन प्लान्टमार्फत आपूर्ति जारी राखेको जानकारी दिए । "हरेक महिनाको मर्मत सम्भार खर्च धान्न नसक्दा जर्मन प्रविधिको प्लान्ट बन्द गर्नु बाध्यता बन्यो," सिंहले भने ।
उनले सबितु हेल्थ इन्टरनेशनलबाट अन्य अस्पतालहरूमा जडान गरिएका अक्सिजन प्लान्टहरू पनि बन्द रहेको दाबी गरे । तर, विक्रेता कम्पनीका प्राविधिक प्रमुख शर्माले भने काठमाडौँका चार अस्पताल, चितवन, धरानलगायतका ठाउँमा जडान गरिएको प्लान्ट सञ्चालनमा रहेको बताए । "नारायणी अस्पताल बाहेक अन्य स्थानमा प्लान्ट राम्रोसँग सञ्चालन भइरहेका छन्," शर्माले जिकिर गरे ।
महामारीका बेला ठूलो लगानीमा जडान गरिएको अक्सिजन प्लान्ट साधारण मर्मत खर्च जुटाउन नसकेर बन्द हुनु व्यवस्थापकीय कमजोरीको नतिजा रहेकाे स्थानीय नरेश पटेलले बताए । स्वास्थ्य सेवा सुदृढ बनाउन अस्पतालले प्लान्ट मर्मत र सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने उनी बताउँछन् ।