१४ वर्षीय बालक कृष्ण प्रसाद यादवको हत्यामा संलग्न चार जना अभियुक्तलाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बृन्दावन नगरपालिका–७ का २५ वर्षीय नागेन्द्र सहनी, सोही स्थानका २२ वर्षीय साधु भनिने नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र गौर नगरपालिका–८ का अनिल साह रहेका छन् ।
प्रहरीका अनुसार मृतक वृन्दावन नगरपालिका–७ बस्ने सुरज राय यादवका छोरा कृष्ण प्रसाद यादवको शव वैशाख ११ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा फेला परेको थियो । शवको छाती र पेटमा गोली लागेको, घाँटी चिरेको र भित्री अंग बाहिर निस्केको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार वैशाख ६ गते टिकटक भिडियो बनाउने बहानामा मृतकलाई फोन गरी चाँदी खोलामा बोलाइ हत्या गरिएको हो । घटनामा संलग्न अभियुक्तहरूले यादवलाई नियन्त्रणमा लिएर उनको मोबाइल खोसेर मोटरसाइकलमा चढाई चाँदी खोलातर्फ लगेका थिए ।
प्रहरी अनुसन्धानबाट दुबै परिवारबीच पुरानो रिसइबी रहेको खुलेको छ । तीन वर्षअघि नागेन्द्र सहनीको भतिजी मृतकका बुवाको इँटा भट्टामा डुबेर मृत्यु भएपछि मृतक परिवारले सहनी परिवारमाथि आरोप लगाउँदै आएको थियो । त्यस क्रममा मृतकका बुवालाई अपहरण गरेको अभियोगमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीविरुद्ध मुद्दा चलाइएको र उनी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
हत्या भएपछि साधु भनिने नागेन्द्र सहनी र अर्का नागेन्द्र सहनी मृतककै मोटरसाइकलमा चढेर दुर्गाभगवती गाउँपालिका–५ स्थित आफ्ना बहिनी ज्वाइँको घर पुगेका थिए । त्यहाँ पेस्तोललाई टिनको बाकसमा लुकाएको र मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको प्रहरी अनुसन्धानले देखाएको छ ।
त्यसपछि वैशाख ७ गते बिहान उनीहरूले मोटरसाइकल ५ हजार रुपैयाँमा विकास पटेललाई बेचेका थिए । उक्त मोटरसाइकल गौरस्थित मोटरसाइकल ग्यारेजबाट काटिएको अवस्थामा प्रहरीले फेला पारेको छ । घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल पनि दुर्गाभगवती गाउँपालिका–५ स्थित एक घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जना अभियुक्तलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिएका छन् ।