वीरगंज उद्योग वाणिज्य संघ अन्तर्गतको खुद्रा व्यवसाय समिति संयोजक नरेशकुमार टिवडेवालको सभापतित्वमा संघमा अावद्ध वीरगंजका खुद्रा व्यवसायीहरूको समस्या समाधानका लागि वृहद् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
संघको सभाकक्षमा आयोजित उक्त छलफल कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, कार्यसमिति सदस्यहरूका साथै वीरगञ्जका विभिन्न क्षेत्रका केही खुद्रा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खुद्रा व्यवसायीहरूले बजारमा भइरहेको कर सम्बन्धी समस्या, अनियमित अनुगमन, स्थान अभाव, प्रतिस्पर्धाको असमानता, नयाँ व्यवसाय खोल्न भइरहेका प्रशासनिक झन्झट, साना व्यवसायीको सुरक्षा लगायतका विषयमा छलफल भएको थियोे ।
संयोजक टिवडेवालले भेलाको उद्देश्य समस्याहरू लिपिबद्ध गर्दै संघमार्फत सम्बन्धित निकायसम्म पु¥याउने तथा दीर्घकालीन समाधान खोज्ने रहेको बताए । “हामी समस्यालाई औपचारिक रूपमा संघमा दर्ता गरी नीति निर्माण तहसम्म पुर्याउँछौं,” टिवडेवालले भने, “खुद्रा व्यवसायीहरू आर्थिक प्रणालीका मेरुदण्ड हुन् । यिनको समस्या समाधान नगरी आर्थिक सुदृढता सम्भव छैन ।”
संघका अध्यक्ष हरिप्रसाद गौतले वीरगंजको व्यापारिक गतिविधिमा खुद्रा व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको भन्दै संघ सदैव उनीहरूको हितका लागि प्रतिबद्ध रहेको बताए । उनले नगरपालिका, जिल्ला प्रशासन, कर कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै व्यवहारिक समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।