पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत भारतले २४ देखि ३६ घन्टाभित्र पाकिस्तानमाथि आक्रमण गर्ने विश्वसनीय सूचना प्राप्त गरेको दाबी गरेका छन् ।
उनका अनुसार यो दाबी जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलासँग जोडिएको छ, जसमा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । मन्त्री तरारले भनेका छन्, "भारतले आधारहीन र मनगढन्ते आरोपको बहानामा सैन्य कारबाहीको योजना बनाएको छ ।" उनले कुनै पनि सैन्यहरुले गरिनु परेमा पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी पनि दिएका छन् ।
भारतले 'द रेसिस्टेन्ट फ्रन्ट' (टिआरएफ) नामक आतंकवादी समूहको लागी पाकिस्तानी गुप्तचर र सेनाको समर्थन रहेको दाबी गरेको छ । यता पाकिस्तानले घटनामा कुनै प्रकारको संलग्नताको नरहेकाे दाबी गर्दै आएकाे छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले निष्पक्ष छानबिनको लागि तयार रहेको बताएका छन् ।
भारतको प्रतिक्रिया
भारत सरकारले उक्त आतंकवादी हमलापछि पाकिस्तानसँगको शिन्धु जलसम्झौता अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ । शिन्धु जलसम्झौताअनुसार, भारतले पाकिस्तानमा पुग्ने पानीमा कटौती गर्ने योजना बनाएको छ । यद्यपि, विश्लेषकहरूले यस कदमलाई कार्यान्वयन गर्न गाह्रो हुने औँल्याएका छन् ।
दुवै देशले एक अर्काका कुटनीतिज्ञहरूलाई फिर्ता गरेको छ । भारतले १ मे भित्र पाकिस्तानका नागरिकलाई आफ्नो भूमि छोड्न आदेश दिएको छ र सार्क राष्ट्रको विशेष भिसा पनि रद्द गरेको छ । पाकिस्तानले पनि भारतसँगको सबै द्वीपक्षीय सम्झौतासमेत तत्काल रोक्ने निर्णय गरेको छ र भारतीय जहाजहरूलाई आफ्नो आकाशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।
जम्मू-कश्मिरको नियन्त्रण रेखामा (एलओसी) भारतीय र पाकिस्तानी सेनाबीच गोलाबारीको घटनाहरू पनि भइरहेका छन्, जसले सुरक्षाको स्थिति थप तनावपूर्ण बनाएको छ । मन्त्री तरारले थप जानकारीको लागि पत्रकार सम्मेलनको तयारी गरिरहेको बताएका छन्, जसले यस घटनाबारे बुझ्न थप मद्दत पुर्याउनेछ ।