‘दुबई पठाइदिन्छु’ भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने परवानीपुर गाउँपालिका–३ का ४५ वर्षीय श्रवन साह रौनियार इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा परेका छन् ।
पीडित आफैले उनलाई पक्राउ गरी प्रहरीमा बुझाएका हुन् । श्रवनले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनालाई प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको रूपमा दुबई पठाउने लोभ देखाउँदै जनही दुई लाख रुपैयाँका दरले रकम संकलन गरेका थिए । पीडितहरूले विभिन्न समयमा १० लाख ९० हजार रुपैयाँ बुझाएका थिए । तर उनले विदेश पठाउने प्रक्रिया अघि नबढाई सम्पर्कविहीन हुन थालेपछि पीडितहरू सशंकित भएका थिए ।
नक्कली भिसा दिएर सम्पर्कविहीन
श्रवनले पीडितहरूलाई केही समयपछि नक्कली भिसा र फर्जी कागजातसमेत दिएका थिए । ती कागजातहरू वैध नभएको थाहा पाएपछि पीडितहरू झनै आक्रोशित भएका थिए । लगातार सम्पर्कमा रहन खोज्दा पनि श्रवनले फोन उठाउन बन्द गरेर विभिन्न स्थानमा लुकीछिपी बस्न थालेका थिए ।
पीडितमध्ये अशोक पासवान (२७) ले आफूले १ लाख १० हजार रुपैयाँ पुरा नपुगेपछि आफ्नो मोटरसाइकल श्रवनको नाममा पास गर्न बाध्य भएका थिए । यस्तै अन्य पीडितहरू कृष्ण साह तेली (३१), अजय पासवान (२५), बलिराम हजरा (३६), विजय माझी मुसहर (३३) र दिलिप माझी मुसहर (२४) ले पनि ठगीमा परेका छन् ।
थप ठगी नहोस भनेर सावधानी अपनाएका पीडितहरूले योजनाबद्ध रूपमा श्रवनलाई जीतपुरस्थित गढीमाई मन्दिर नजिकबाट समातेका थिए । उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको हो । प्रहरीले उनलाई हाल हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
श्रवन साह पक्राउ परेपछि उनका वडाका तीन अन्य व्यक्तिहरू पनि आफुहरू ठगीमा परेको भन्दै प्रहरी कार्यालय पुगेका छन् । परवानीपुर गाउँपालिका–२ का हाकिम हवारी, सुरेन्द्र साह र रामबाबु रामले दुबई पठाउने भन्दै ५ लाख ९० हजार रुपैयाँ श्रवनलाई दिएको आरोप लगाएका छन् ।