धान उत्पादनका लागि उपयुक्त भूगोल रहेको सर्लाही जिल्लामा चैते धानखेतीको सम्भावना व्यापक हुँदाहुँदै पनि खेती विस्तार हुन सकेको छैन ।
जिल्लामा कुल ६९१ हेक्टर क्षेत्रमा चैते धानखेती गर्न सकिने क्षमता हुँदाहुँदै पनि हालसम्म वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई ‘कृष्क जोन’ घोषणा गर्दै अनुदान, तालिम र उपकरण सहयोग गरे पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको हो । परियोजना २०७३ सालदेखि सुरु भई २०७७/७८ सम्म कार्यान्वयनमा ल्याइएको थियो ।
धान उत्पादनको सम्भावना, तर भएनन् किसान आकर्षित
परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहका अनुसार सर्लाहीमा बर्खे धान ४५ हजार ९५० हेक्टर क्षेत्रमा उत्पादन हुन्छ । यहाँ बर्खे धानको उत्पादन प्रतिवर्ष १ लाख ६७ हजार २५८ मेट्रिक टन पुग्ने गरेको छ । यद्यपि, चैते धानखेतीमा किसानहरू खासै आकर्षित भएका छैनन् । साहका अनुसार चैते धान बर्खे धानभन्दा उब्जनीमा अझ बढी हुने तथ्याङ्कले देखाउँछ ।
“बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ३.६४ मेट्रिक टन छ भने चैते धानको उत्पादकत्व ४.६६ मेट्रिक टन छ,” साह भन्छन्, “तर सिँचाइको अभाव, मूल्यको अनिश्चितता र सरकारी समर्थन नहुनु प्रमुख चुनौती बनेको छ ।”
सिँचाइ अभावकै कारण समस्या
कृषकहरूका अनुसार चैते धानखेती गर्नका लागि कम्तीमा १३ पटक सिँचाइ गर्नुपर्ने हुन्छ । तर जिल्लाका अधिकांश क्षेत्रमा सिँचाइको सुविधाको व्यवस्था छैन । सिर्सियाका कृषक रामआधार राय भन्छन्, “यस समयमा धेरै खडेरी पर्छ, खेतमा तीन–पाँच दिनमा एकपटक पानी हाल्नुपर्छ । सिँचाइको उपयुक्त प्रबन्ध छैन ।”
विद्युत मोटर र पम्पसेटको सहायतामा पानी हालेर खेती गरिएको भए पनि त्यसले दीर्घकालीन समाधान दिन सकेको छैन । यदि स्थानीय तहले स्थायी सिँचाइ योजनाको व्यवस्था गरे, सर्लाहीमा चैते धानखेतीको क्षेत्र र उत्पादन दुवै गुणात्मक रूपमा वृद्धि हुने किसानहरूको भनाइ छ ।
ईश्वरपुरका कृषक रामभरोसी यादवका अनुसार बर्खे धान उपभोगका लागि प्रयोग गरिन्छ भने चैते धान बढी बिक्रीका लागि लगाइन्छ । तर धानको उचित मूल्य नपाउनु चैते खेतीप्रति आकर्षण घट्नुको अर्को कारण हो । “सरकारले चैते धानको समेत समर्थन मूल्य तोक्नुपर्छ,” यादवले माग गरे । हाल सर्लाहीका ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टर क्षेत्रमा मात्रै चैते धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सबैभन्दा धेरै ईश्वरपुरमा २० हेक्टर, लालबन्दी र बरहथवामा १०–१० हेक्टर, बाँकी पालिकामा पाँच, तीन र दुई हेक्टरमा मात्रै खेती भइरहेको छ ।