सरकारी वकिलको कार्यालय मार्फत फागुन २४ गते फौजदारी अभियोगमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्साले २ महिनापछि पञ्जिकरण अधिकारीसँग बयान लिएको छ ।
नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई गृह मन्त्रालयले तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपनि पर्सा प्रहरी आलटाल गर्दै आएपनि लामो रस्साकस्सी बिच पञ्जिकरण अधिकारीसँग कर्मकाण्डी बयान लिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै बाबु बनेर नागरिकता दिलाइ दिएका मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी नागरिकता बनाउन मेयर राजेशमान सिंहले जन्मदर्ता, सिफारिस लगायतको कागजात किर्ते गरी नागरिकता बनाएका हुन् । सोही सरकारी किर्ते विरुद्ध परेको उजुरी छानविन गर्न पर्सा प्रहरी खुट्टा कमाउँदै आएको छ ।
दर्ता गर्नै नमानेको उजुरी सरकारी वकिलको कार्यालयको निर्देशनपछि पर्सा प्रहरीले दर्ता गरेपनि छानविन प्रकृया अगाडि बढाउन सकेको छैन् । २०८० फागुन २४ मा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले २ महिनापछि आइतबार पञ्जिकरण अधिकारीसँग बयान लिएको हो । ५ घण्टा लामो बयान लिएको पर्सा प्रहरीको बयानमा समेत तत्कालीन पञ्जिकरण अधिकारी भिखारी रायले यसअघि नै मिडियामा दिएको बयान दोहराएको प्रहरीले जनाएको छ ।
तत्कालीन पञ्जिकरण अधिकारी भिखारी रायको हस्ताक्षरले राजेशमान सिंहको छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको प्रतिक्रिया प्रहरी समक्ष बयान दिएका छन् । सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । रिता भट्टराईले जिल्ला अदालत पर्सामा पेश गरेको उक्त जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको छ । तर, भिखारी रायले उक्त जन्म दर्तामा प्रयोग भएको हस्ताक्षर, छाप र नाम किर्ते गरिएको प्रहरी समक्ष बयानमा बताएको छ । रायले उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर र आफ्नो हस्ताक्षर फरक रहेको दाबी गरेका छन् । ‘यो जन्मदर्ता मेरो हस्ताक्षरबाट जारी भएकै होइन,’ रायले प्रहरी समक्ष, ‘किर्ते स्टाम्प र हस्ताक्षर गरेर यो जन्मदर्ता बनाइएको बयान दिएको छ ।’
मेयर राजेशमान सिंहले वीरगंज उपमहानगरपालिका कार्यालय, वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लागत फारम नं. १०६/२०७१/२०७२ बाट किर्ते जन्मदर्ताको प्रमाणपत्र तयार गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नो भनि नागरिकता बनाइदिएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । त्यसलगत्तै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखि ७ वटा निकायमा जाहेरी परेको छ । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर ल्याइएको छैन् ।