धान फल्ने खेत बगर बने पनि तरबुजा खेती मार्फतै देउखुरीका किसान घरखर्च चलाउँदै सन्तानको शिक्षादीक्षा समेत धान्दै आएका छन् ।
दाङको लमही नगरपालिका-४, सेम्रहवाकी पवित्रा चौधरीको धान खेत राप्ती नदीले कटान गरिदियो। राप्ती पुल नजिकै पश्चिमपट्टिको बचेको तीन कट्ठा खेत पनि बगर बन्यो। तर गत बिहीबार यही बगरमा फलाएको एक क्विन्टल तरबुजा बेचेर पवित्राले १२ हजार रुपैयाँ कमाइन्।
अहिले सिजन नै भएकाले पवित्रा दिनहुँ तरबुजा बिक्री गर्छिन्। बगरमै खेती गरेर वर्षभरिमा करीब तीन लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन् । बर्खाभरि डुबान भई धान रोप्न नपाए पनि हिउँदमा तरकारी र तरबुजा लगाएर पवित्रा भर्पाइ गर्छिन्। यस पटक बेचेको तरबुजा पनि उनले गत मंसीरमा रोपेकी थिइन् ।
“यो हाम्रो दर्तावाला जग्गा हो, राप्तीले कटान गरेपछि धान खानेखेत बगरमा परिणत भयो,” उनी भन्छिन्, “बर्खामा धान खेती गर्न नमिले पनि हिउँदमा तरबुजा र तरकारी खेती गर्छौं, अहिलेसम्म राम्रै आम्दानी भइरहेको छ।”
शुरू शुरूमा उनले तरकारी मात्रै लगाउँदै आएकी थिइन्। तर आम्दानी राम्रो हुने थाहा पाएपछि ६/७ वर्षदेखि उनी तरबुजा खेतीमा लागेकी हुन् । पवित्राका अनुसार एक कट्ठा खेतमा आठदेखि १२ क्विन्टलसम्म तरबुजा फल्छ। एउटै तरबुजा आठ किलोसम्मको हुन्छ। उनी भन्छिन्, “तर यस वर्ष पानी नपरेकाले गत वर्षभन्दा कम फलेको छ। अहिले एक कट्ठामा करीब सातदेखि आठ क्विन्टलसम्म फल्छ कि भन्ने अपेक्षा गरेका छौं।”
तरबुजाकै आम्दानीबाट पवित्राले घरखर्च चलाउँदै आएकी छिन्। आफ्नो र भाइबहिनीको पढाइ खर्च यसैबाट जुटिरहेको छ। “६ जनाको परिवार छ,” पवित्रा भन्छिन्, “गर्न सकेमा बगरमा पनि सुन फलाउन सकिन्छ भन्ने महसूस भएको छ।” यस पटक भाडामै लिएर भए पनि १० कट्ठा जति जग्गामा तरबुजा लगाउने उनको योजना छ। धेरै जग्गाजमीन हुनेका लागि तरबुजा खेती फाप्ने उनी बताउँछिन्। सेम्रहवाकै रामकुमारी चौधरीको खेत पनि राप्तीले बगर बनाएको थियो। तर अहिले बगरलाई रामकुमारीले तरबुजा फल्ने बारी बनाएकी छिन्। उनी थोक विक्रेता हुन्।
रामकुमारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष उनले धेरै तरबुजा बेचेकी छन्। “हामीले अहिलेसम्म होलसेलमा प्रतिक्विन्टल तीन हजारदेखि चार हजारसम्मको बेचेका छौं,” रामकुमारी भन्छिन्, “पहिला पहिला प्रतिक्विन्टल चार हजारको दरले बेच्यौं, अहिले तीन हजारमा बेचिरहेका छौं। अब फेरि बढ्छ होला।”
कुनै समय जमीनदारको घरमा कमैया बसेका भोदु चौधरी पनि अहिले तरबुजा बेचेर मनग्य आम्दानी गरिरहेका छन्। “आधा जुनी कमैया बसें, कमैयाबाट मुक्त भए पनि घरको खेतबारीमा सीमित थिएँ,” ६० वर्षीय भोदु भन्छन्, “विगत ६/७ वर्षयता तरबुजा खेती गर्दै आएको छु।”
भोदु आठ कट्ठा जमीनमा तरबुजा फलाइरहेका छन्। तरबुजाकै कारण आफूलाई घरखर्च चलाउन पनि सहज भइरहेको उनी बताउँछन्। तरबुजाकै आम्दानीले उनले सन्तानको पढाइ खर्च पनि धान्दै आएका छन् ।
भोदु थोक तथा खुद्रा मूल्यमा तरबुजा बेच्छन्। “होलसेलमा ३० देखि ४० प्रतिकेजी बेच्छौं,” उनी भन्छन्, “खुद्रामा प्रतिकेजी ५० को दरले बेच्छौं ।” पवित्रा, रामकुमारी र भोदु उदाहरण मात्रै हुन्, देउखुरी उपत्यकाका अधिकांश किसान यसरी बगरमा तरबुजा फलाएर मनग्य आम्दानी लिइरहेका छन् । “राप्तीको बगरैबगर हेर्नुभयो भने सयौं किसान तरबुजा खेती गरेका छन्,” भोदु भन्छन्, “थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यहाँका किसान यो खेतीमा आकर्षित छन्। राप्तीको वरिपरि अहिले हराभरा छ।”
तर महीनौं मेहनत गरेर फलाएको तरबुजा चोरी हुने गरेको छ। यसले किसानलाई भने आर्थिक रूपमा निकै घाटा पुर्याइरहेको छ। “रातभरि जाग्राम बस्न सकिन्न,” भोदु भन्छन्, “स्थानीय तह र प्रशासनलाई जानकारी दिएका छौं, अब चोरी हुँदैन कि!”