रूसी सेनामा कार्यरत ४० नेपाली युवाले ज्यान गुमाएको परिवारजनले बताएका छन् ।
निबार मात्रै तनहुँका बमबहादुर आलेको ज्यान गएको छ । रूसी सेनामा कार्यरत नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको ‘रूसी फौजमा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ ले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म ४० जनाले ज्यान गुमाइसकेका छन्। अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीका अनुसार मृतकका परिवारले पुष्टि गरेको आधारमा तथ्यांक तयार पारिएको हो ।
रूसी सेनामा कार्यरत नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन मृतकको विवरण संकलन गर्न थालेको भण्डारीले बताइन् । “रूसी सेनामा गएका युवाका परिवारसँग सम्पर्क गरी विवरण संकलन गरेका हौं। त्यही क्रममा अहिलेसम्म यतिका विवरण संकलन भइसकेको छ,” उनले भनिन्, “तर यस विषयमा सरकारले वास्ता गरेको छैन ।” शनिबार मात्रै रूसी सेनामा कार्यरत तनहुँका बमबहादुर आलेको ज्यान गएको परिवारजनले जनाएका छन् । आलेसँगै कार्यरत नेपाली युवाले दिएको खबरका आधारमा परिवारजनले सोमबार कुशको शव बनाएर अन्त्येष्टि गर्न लागेको भण्डारीले बताइन् ।
ज्यान गुमाएका युवाका परिवारले भने कुशको शव बनाएर अन्त्येष्टि गरिसकेको भण्डारीले बताइन्। “हिजो ज्यान गुमाएका बमबहादुर आलेका परिवारजनले भोलि अन्त्येष्टि गर्दै छन्, अन्य युवाका परिवारजनले अन्त्येष्टि गरिसकेका छन्,” भण्डारीले भनिन् । अभियन्ता भण्डारी गत महीना अनशनमा पनि बसेकी थिइन्। अभियानमा लागेकाहरू रूसी सेनामा कार्यरत नेपालीहरूको उद्धार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै आन्दोलनमा छन्। उनीहरूले रूसी सेनामा रहेका नेपाली युवालाई सकुशल फिर्ता ल्याउन, घाइते भएकाहरूको उपचार र नेपाल ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन् । सरकारले भने अहिलेसम्म २२ जनाको ज्यान गएको पुष्टि गरेको छ। चार महीनाअघि डीएनए परीक्षणका लागि परिवारको नमूना संकलन गरेको थियो । तर अहिलेसम्म त्यसबारे जानकारी सार्वजनिक गरेको छैन ।
परराष्ट्र मन्त्रालयका अनुसार रूसी सेनामा गएका आफन्तजनको खोजी तथा घर फर्काउनका लागि २८६ निवेदन आएका छन्। जसमध्ये ९९ जना सम्पर्कमा नरहेकाले खोजी तथा घर फर्काउने पहल गरिदिन परिवारजनले आग्रह गरेका छन्। त्यस्तै, घाइते तथा अन्य कारण देखाउँदै १४२ जनाका परिवारले घर फर्काउनका लागि पहल गरिदिन निवेदन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।