वीरगंजको बाईपास सडक खण्डमा रहेको नबिल बैंक लुटपाट प्रकरण बैंककै लापरवाहिले भएको अनुसन्धानमा खटिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
२२ हजार रुपैयाँको लोभले नबिल बैंक लुटिएको अनुसन्धानमा देखिएको अधिकारीहरुको दाबी छ । गत वैशाख १७ गतेको विहान ४ बजे बैंकमा नाटीकय लुटपाट भएको थियो । सो प्रकरणले वीरगंजमा बैंक नै असुरक्षित रहेको भन्दै चिन्ता समेत बढेको छ । तर याता बैंक लुटिएको प्रकरण अनुसन्धान गरिरहेको पर्सा प्रहरी र भारतीय प्रहरीले बैंकले समान्य अपनाउनुपर्ने नियमहरु नअपनाउँदा यस्तो ठुलो घटना हुन गएको जनाएको छ ।
अनुसन्धान अधिकारीहरुकाअनुसार वीरगंजको स्थानीय होटलमा बास बसेर १७ गते विहान ४ बजे ग्यास कटरले सटरको ताल्चा फोडेर बैंकमा पसेर बैंकको स्टील दराजमा रहेको एक सय र २० का दरको १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नेपाली र भारतीय चोरहरुले लुटेर लगेका थिए । लुटमा संलग्न रहेको भन्दै पर्सा पहरीले दुई जना नेपाली र तीन जना भारतीयलाई पक्राउ गरिसकेको छ । तर, मुख्य भनिएका अभियुक्तहरु अहिले पनि फरार नै छन् । नबिल बैंक बाईपास शाखाले बैंकमा गार्ड नराखेको, मुख्य शाखामा सेफ लकरमा राख्नुपर्ने रकम स्टील दराजमा राखेको र चोरी गर्न सटर फोड्दा एलार्म बज्ने ईकुप्मेन्ट नराखेकाले चोरीको घटना भएको प्रहरीले जनाएको छ ।
बैंकले समान्य प्रकृयाहरु नअपनाउँदा वीरगंजमा ठुलो मात्रामा रकम चोरि भएको देखिन्छ । बैंकले चोरी भएको रकम विमा प्राधिकरणले दिने भन्ने लोभ र भरका कारण यस्तो घटना भएको नेपाल तथा भारत प्रहरीको अनुसन्धानले देखाएको छ । पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाको १२ घण्टा भित्र रौतहटका दुर्ई जना अभियुक्तलाई पक्राउ गरिएको थियो । वैशाख १८ गते बिहानको २ः०० बजेको समयमा प्रहरीले रौतहट मौलापुर नगरपालिका ७ बस्ने राम अयोध्या साह कलवारको छोरा वर्ष २३ को छोटेलाल साह कलवार, बिगु साह कलवारको छोरा वर्ष २६ को संजय साह भन्ने बिश्मवर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पर्सा प्रहरीको सहयोगमा भारतबाट १८ लाख नेपाली रुपियाँँ सहित ३ जनालाई पक्राउ गरेका छन् । बिहार पुलिस मातहतको पुर्वी चम्पारण मोतिहारीका एसपी कांतेश कुमार मिश्राले पत्रकार सम्मेलन गर्दै वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिलासहित ३ जना अभियुक्त पक्राउ गरेको बताएका थिए । मोतिहारी पुलिस मातहतको तीन जना डिएसपीहरूको संयुक्त कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको एसपी मिश्राले बताएका थिए । पक्राउ पर्नेमा पुर्वी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् भने उनीहरूलाई सघाउने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन् ।
पक्राउ परेका ३ जना मध्ये २ जनालाई मोतिहारी प्रहरीले सार्वजनिक गरि घटना वारे जानकारी गराइ पर्सा प्रहरीलाई बुझाएका थिए । भने मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोध कुमार, सिकराहनाका डिएसपी अशोक कुमार र रक्सौलका डिएसपी धीरेन्द्र कुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीन जनाको साथबाट एउटा बन्दुक, कार्तुस २ थान, सुनको औंठी, पल्सर मोटरसाइकल, मोबाईल २ थान, सिसिटिभि क्यामेरा २ थान र फुटेज र नेरू १८ लाख २३ हजार २ सय बरामद भएको छ । बैंक चोरी गर्ने ग्यास कटरसहित ड्रिल मेशिन पनि बरामद गरेको मोतीहारी पुलिसले जनाएको छ ।
औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरिद गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट भए वीरगंजका एक जना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामा समेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको हो ।